आजदेखि यात्रुसहित रेल संचालन


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०७८ मा प्रकाशित




जयनगर–कुर्था रेल्वे खण्डमा आज (आइतबार)देखि यात्रुसहितको रेल सेवा सुरु हुँदै छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले हिँजो (शुक्रबार) संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका हुन्।

दैनिक २ पटक जयनगर–कुर्था रेल चल्ने छ। विहान ८ बजे जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको छ

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको छ। जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने छ। खुला सीमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको महाप्रबन्धक झाले बताए। सुरक्षा र खुला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाई छ।

नेपालको जनकपुरधामबाट यात्रा गर्दा जयनगरसम्म सामान्य सीटको ७० रुपैयाँ टिकट तोकिएको छ। एसी भएको सिटको भने ३ सय ७० रुपैयाँ टिकट लाग्नेछ। भारतबाट आउँदा भने सामान्य टिकटको ९० रुपैयाँ र एसी भएको सीटको ४ सय ५० रुपैयाँ पर्नेछ। रेलमा एक पटकमा १ हजार ५ सय यात्रु अटाउने क्षमता छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।