पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि तिव्र पारिएको आयोजकले जनाएको छ ।
होटल संघ पोखरा नेपालको आयोजनामा यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म हुन लागेको महोत्सवको तयारी तिव्र पारिएको आयोजकले पत्रकार सम्मेलन गरि जानकरी दिएको छ ।
लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको तीन किलोमिटर सडकमा महोत्सव संचालन हुने महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा उपसमितिहरु गठन गरी तयारी अगाडि बढाइएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जनाकारी दिए ।
पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर संघले पहिलोपटक सडकमा नै महोत्सव आयोजना गर्न लागेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले बताए । पोखराका होटलमा अहिले २० प्रतिशत हाराहारी अकुपेन्सी रहेको जानकारी दिंदै सुवेदीले आन्तरिक र भारतीय पर्यटकको आगमन विस्तारै बढ्न थालेको जानकारी दिए । महोत्सवका अवसरमा आफ्ना सदस्य होटलमा बस्ने पाहुनालाई ३० प्रतिशत छुटको घोषणा गर्दै अध्यक्ष सुवेदीले रेष्टुरेण्ट र प्याराग्लाइडिङ क्षेत्रबाट समेत महंगीका वापजुद पुरानै मूल्यमा सेवा प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले पछिल्ला बर्षहरुमा पोखरा र वरपरका क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यहरु थपिने क्रम रहेको स्मरण गराउँदै यसले पर्यटकको बसाई अवधि लम्ब्याउन मद्दत पुग्ने विचार राखे । विशाल शिव मूर्ति, केवलकार, बञ्जी जम्पिङ र जिपलाइन जस्ता पर्यटकीय सम्पदाले यस क्षेत्रमा आकर्षण थपिएको पराजुलीले बताए । होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि कार्यक्रममा आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।
परम्परागत नेपाली खानाको प्रस्तुती र विक्री, सांस्कृतिक झाँकीका कार्यक्रम, प्रख्यात कलाकारबाट पप कन्सर्ट, मनोरञ्जनात्मक कार्यक्रमहरुको प्रस्तुती र लोक दोहोरीका कार्यक्रम महोत्सवका आकर्षण रहेका छन् । अम्मट र सेन्टर प्वाइन्टमा स्टेज निर्माण गरी ती कार्यक्रमहरु संचालन गरिने संघले जनाएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य महोत्सवले लिएको छ । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने नेपाल पर्यटन बोर्ड प्रबद्र्धक रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







