पोखरामा करीब २ करोडको लागतमा दीपकले शुरु गरे डि जानकी एग्रो फार्म, सार्वजनिक सुनुवाईपनि सम्पन्न


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित




पोखरा, चैत २२

युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रालि सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका युवा कृषि उद्यमी तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा १ करोड ९५ लाख ८१ ह्जार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याउन लागेका हुन् ।

फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)का अनुदान स्वरुप ५० प्रतिशत अर्थात ९७ लाख ९० हजार ९ सय १७ रुपैयाँ लगानी गर्नेछ । त्यस्तै, नवील बैंकबाट ६० लाख र सञ्चालकको तर्फबाट तिमिल्सिनाले ३७ लाख ९० हजार ९ सय १६ रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार आगामी २०७९ साल पुस ३ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्नेछ ।

स्वच्छ दूध उत्पादनका लागि उन्नत पशुपालन व्यवसाय गर्ने उद्देश्यले सञ्चालनमा आउन लागेको फार्मको सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । आयोजना स्थलमै आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)का प्रतिनिधि, पोखरा–१५ का वडाध्यक्ष, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, पशु विज्ञ केन्द्र तथा जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै एनएलआईसीका प्रतिनिधि डा.रेशमराज ज्ञवालीले उत्पादन, संकलन र प्रशोधनका लागि देशभर ८५ वटा फार्म छनौट गर्दा डि जानकी एग्रो फार्म प्रालि परेको बताए । उनका अनुसार प्रतिष्पर्धा गरेरै सो फार्म छनौटमा परेको हो । उनले फार्म सञ्चालनका लागि राती खहरे उपयुक्त भएको बताए । अब फार्ममा वातावरण स्वच्छ राख्ने, हरियाली प्रवद्र्धन गर्ने, गोबर ब्यबस्थापन गर्नुका साथै घाँस प्रशस्त मात्रामा लगाउन उनले सुझाव दिए ।

फार्म सञ्चालक दीपकप्रसाद तिमिल्सिनाले सरकारको अनुदानमा फार्म सञ्चालन गर्न पाउँदा आफू खुशी भएको बताए । ‘यसले पैसा कमाउन विदेश जानु पर्दैन । स्वदेशमैपनि पशुपालन वा कृषि कर्म गरेर स्थापित हुन सकिन्छ भन्ने दृढ विश्वास जागेको छ’–उनले भने । उनले उत्पादकत्व बृद्धि गर्ने, गुणस्तर काय गर्न आफू प्रतिबद्ध रहेको बताए । नाफा मात्रै कमाउने उद्धेश्य नभई सामाजिक कामपनि गर्दै जाने आफ्नो उद्देश्य रहेको उनको भनाई छ ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले अनुदानमा दोहोरो, तेहेरो हुन नहुने भन्दै त्यसतर्फ अनुदानदाता निकाय सचेत रहनुपर्ने बताए । डि जानकी एग्रो फार्म प्रालिले तोकिएको मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्ने, गुणस्तर कायम गर्नेमा आफू विश्वस्त रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।