पोखरा, चैत २९
होटल संघ पोखराले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा शुरु हुँदैछ । नेपाली नया वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरि ‘सडक महोत्सव’को नामबाट गर्ने महोत्सव बुधबारदेखि शुरु हुन लागेको हो । पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’ भोलिदेखि पोखरामा शुरु हुन लागेको हो । महोत्सव आयोजक होटल संघ पोखराले मंगलबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
होटल संघ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव आयोजना गर्दैछ । रेवान पोखराले हरेक अंग्रेजी नया वर्षमा ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । सोहि थिममा होटल संघ पोखरालेपनि सडकमै खानाका परिकार पस्केर सडकमै नाच्दै, रमाइलो गर्नेगरी महोत्सव आयोजना गरेको छ ।
महोत्सवको पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्ने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकैपटक झाँकीसहितको ¥याली निस्किनेछ । दुबैतर्फको ¥याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने संघका अध्यक्ष सुबेदीले जानकारी दिए । उनका अनुसार झाँकीसहितको ¥यालीमा स्थानिय आमा समूह, क्लव, जातिय संघसंस्थादेखि स्थानियको सहभागिता रहनेछ ।
बुधबार र विहीबार हुने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याती प्राप्त कलाकार तथा स्थानिय कलाकारहरुको प्रस्तुती, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहने जनाइएको छ । लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिनेछन् ।
महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठूला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन् । त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ ।
सडकमा महोत्सव हुने भएकाले लेकसाईडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइने आयोजकले जनाएको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार पूर्वमा सहीदचोक र नारेश्वर क्षेत्रबाटै सवारी प्रवेशमा रोक लगाइनेछ । भित्री बाटोबाट स्थानिय र पर्यटकका गाडीलाई भने आवतजावत गर्न दिइने अध्यक्ष सुबेदीले बताए । आएका सवारी साधनका लागि डिहिकोपाटन, क्याम्पिङचोक र बसुन्धरा पार्कमा पार्किङ क्षेत्र छुट्याइएको छ ।
महोत्सवको अवसरमा होटल संघले आफू मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिने बताएको छ । संघका अध्यक्ष सुबेदीले संघमा आबद्ध होटलहरुबाट छुट दिने ब्यबस्था मिलाइएको बताए । उनका अनुसार महोत्सवको अवसरमा स्थानिय अन्नपूर्ण केवलकारले १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
संघले महोत्सव अवधीभरका लागि रात्रीकालीन बस तथा ट्याक्सी सेवा दिने प्रबन्ध मिलाएको जनाएको छ । जस अनुसार रातीसम्मै बस र ट्याक्सीले सेवा दिनेछन् ।
होटल संघले यस वर्ष महोत्सवमा टिकट काट्नुपर्ने बाध्यता हटाएको छ । कोभिडका कारण सबै क्षेत्रमा असर परेकाले सहजै प्रवेश पाउने व्यवस्थाका लागि आफूहरुले प्रवेश निःशुल्क गरेको संघका अध्यक्ष सुबेदीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







