हप्तामा दुई दिने बिदाको होटल सङ्घ पोखराद्वारा स्वागत


     एभरेस्ट आवाज    
     वैशाख १६ गते २०७९ मा प्रकाशित




यस वर्षको लक्ष्मीपूजाको साँझ देखिएको उज्यालो पोखरा। जुन पोखराको रात्रीकालीन दृश्यलाई फेवाताल पारीको रानी वनबाट फोटो पत्रकार युनिश गुरुङले आफ्नो क्यामेरामा कैद गरेका हुन्। तस्बीरः युनिश गुरुङको सामाजिक सञ्जालबाट

कास्की । होटल सङ्घ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले आज एक विज्ञप्ति जारी गरी आगामी जेठ १ गतेबाट लागू हुने गरी मन्त्रिपरिषद्ले गरेको शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख गरेका छन् ।

लामो समयदेखि विविध समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले केही रुपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । सङ्घले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको पनि अध्यक्ष सुवेदीले स्मरण गरे ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रुपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास सङ्घले लिएको विज्ञप्तिमा भनिएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।