आसन्न स्थानीय तह निर्वाचनमा हरिमाया तिमिल्सीना अधिकारी नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका अध्यक्षकी उमेदवार हुन् ।२०५८ सालमा पृथ्वीनारायण क्याम्पसमा अखिल क्रान्तिकारीमा आवद्ध भएदेखि उनले राजनैतिक यात्रा सुरु गरिन् ।त्यसपछि उनले २०६० सालमा तत्कालिन सराङकोट गाविसको पार्टी सदस्य, अनेमसंघ क्रान्तिकारीको जिल्ला सदस्य हुँदै गण्डकी प्रदेश सदस्य सम्मको जिम्मेवारी पनि निर्वाह गरेकी छन्।राजनीति शास्त्रमा स्नातकोत्तर तथा अंगे्रजी र कानुन विषयमा स्नातक गरेकी अधिकारी यसअघिको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको उपाध्यक्ष पदकी प्रत्यासी हुन्।
पोखरा-२ स्थित सेन्ट भ्याली स्कुलमा २०७० देखि ७४ सम्म अध्यापन समेत गरेकी अधिकारी हाल पार्टीको गाउँपालिका उपाध्यक्ष हुन् । तिनै माओवादी नेत्री अधिकारीसँग स्थानीय तह निर्वाचन सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंश
चुनावी अभियान कसरी अगाडि बढाइरहनु भएको छ ?
घरदैलो कार्यक्रम चलिरहेको छ ।यसक्रममा करिव करिव सबै गाउँपालिकावासीसँग भेट हुने अवसर पनि मिल्यो ।अधिकाशंले यसपटक महिला नेतृत्व स्थापित गर्ने कुरा गर्नुभएको छ ।म त्यसैमा आशावादी छु ।पार्टीले चुनावी माहोलको व्यवस्था मिलाइरहेको छ ।अव करिव घरदैलो सक्यौं पनि ।कांग्रेस, एमाले लगायतका पार्टीसँग जनता यस अघि नै अघाइसकेका रहेछन् ।यसपटक माओवादी केन्द्रको गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा मत दिन्छौं र महिला नेतृत्व स्थापित गछौं भनेर पालिकावासीले भन्नुभएको छ ।घरदैलो समूह विभाजन गरेर गरेका छौं ।अन्नपूर्ण बासीको सकारात्मक प्रतिक्रियाले यसपटक हामी निकै उत्साहित छौ।
तपाई नेतृत्वमा पुग्नुभयो भने के के काम गर्नुहुन्छ ?
अन्नपूर्ण गाउँपालिका पोखरा महानगरसँग जोडिएको र हिमाली भेगसम्म फैलिएको सुन्दर पर्यटकीय ठाँउ हो । यहाँ पर्यटनको प्रचुर सम्भावना छ । कृषिलाई व्यवसायिकरण, स्वास्थ्य, शिक्षाको प्रभावकारी विकास, तथा ग्रामिण विकट स्थानमा सडक पूर्वाधार, खानेपानीको उचित प्रबन्ध, लगायतमा मेरो मूुख्य ध्यान जानेछ ।त्यसका अलवा जेष्ठ नागरिकको लागि घरघरै भत्ता, नागरिकलाई निःशुल्क सिफारिस दिने लगायतका काम पनि गर्नेछु ।बाँझो रहेको जग्गालाई भाडामा लिई उत्पादनमा लगाउने छु ।अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र अन्नपूर्ण रिङरोडको स्तरउन्नतीमा पनि ध्यान दिनेछु ।त्यसका साथै अन्य धेरै काम गर्नुछ । बिगतको स्थानीय चुनावलाई हेर्ने हो भने गाउँपालिकामा तपाइँको पार्टी निकै कमजोर अवस्थामा देखिन्छ ।
पार्टीको अहिलेको अवस्था कस्तो छ ?
हाम्रो पार्टी भनेको जनताको जनजीविकासँग नजिक रहेको पार्टी हो। मुलुकमा हरेक व्यवस्था बदल्नको लागि माओवादी पार्टीले नेतृत्व गर्यो।निर्वाचन भनेको अङक गणितीय खेल पनि हो ।कहिले २ , ४ अङक माथि त कहिले तल हुन्छ । माओवादी पार्टीका एजेन्डा अनुसार अहिले मुलुक चलेको छ ।अहिलेका जनता पहिलाका जस्ता त्यती अबुझ पनि छैनन् ।खाली पुरानै सुर्य र रुखमा मत दिने ।अहिलेका जनताले व्यवस्था बदल्ने पार्टी माओवादी हो भनेर बुझिसकेका छन् ।त्यसमाथि यसपटक हाम्रा साथीहरुले पनि संगठन विस्तारमा अधिक ध्यान दिनुभएको छ । सबै वडामा पार्टी सदस्य बढेका छन् ।त्यसमाथि अहिले अध्यक्ष पदमा महिला उठेकी छु ।यसपटक महिलाको पूर्ण सहानुतिको मत पनि मैले नै पाउँदैछु । घरदैलोका क्रममा अन्नपूर्णका जनताले दिएको मायाले मलाई थप हौसला पनि मिलेको छ ।
तपाईको गाउँपालिका माओवादी पार्टी अध्यक्षको जन्मस्थल पनि हो । तर बिकासको पुर्वाधारको हकमा उनले खासै चासो नदिएको भन्ने गुनासो पनि छ नि ?
यहाँ भएका हरेक विकास र पुर्वाधारसँग हाम्रो पार्टी र स्वयम् अध्यक्ष पनि नजिक हुनुहुुन्छ । पार्टी अध्यक्षको विशेष पहलमा अहिले अन्नपूर्ण बहुुप्राविधिक शिक्षालय भवन शिलान्यास सहित वाली विज्ञान तर्फ पठनपाठन संचालित छ ।त्यस शिक्षालयमा कतिपय गरिव, विपन्न विद्यार्थीहरुले छात्रबृर्तिमा पनि पढिरहेका छन् ।त्यसका साथै माओवादी पार्टीकै अग्रसरतामा लुम्लेका छलिमया अस्पतात पनि शिलान्यास भईसकेको छ । खानेपानी तर्फ हाम्रै पार्टीकी सांसद दुर्गा विकको विशेष पहलमा बृहद् लान्द्रुक खानेपानी योजना पनि परेको छ । त्यसका साथै सडकमा पनि राम्रै पैसा पारिएको छ ।हाल गण्डकी प्रदेश सरकारमा पनि हाम्रो पार्टीको अर्थपूर्ण सहभागिता छ । त्यस मार्फत पनि गत वर्षदेखि विभिन्न योजनाहरु परेकै छन् ।यो वर्ष पनि रणनितिक हिसावले धेरै योजनाहरु संघ र प्रदेश सरकारबाट पर्न पहल गर्दैछौं ।
अन्नपूर्ण गाउँपालिकाले यस पटक महिला नेतृत्व पाउला ? के लाग्छ ?
कास्कीमा यो निर्वाचनमा अन्य कुनै पनि पार्टीले महिला प्रमुख पदका लागि उमेदवार दिन सकेनन् । हाम्रो पार्टीले मात्रै जिल्लाको हकमा अन्नपूर्णबाट मलाई उमेदवार बनाएको छ । यो माओवादी पाटीमा सबै वर्गमा समान सहभागिता छ भन्ने उदाहरण पनि हो ।यसपटक अन्नपूर्णवासी समक्ष महिलालाई नेतृत्व लिन दिने अवसर पनि छ । अघिल्ला वर्षहरुमा भन्दा यसपटक हाम्रो संगठन पनि थप मजबुत भएको छ ।घरदैलोका क्रममा अन्य पार्टीमा आस्था राख्ने आमा दिदीबहिनीले पनि सहानुभुति मै भएपनि यसपटक हसिया हथौडा चिन्हमा मत दिन्छौं भन्नुभएको छ । त्यसकारण यसपटक चुनाव जित्छु भन्नेमा पूर्ण रुपमा विश्वस्त छु ।
गाउँपालिकामा महिला नेतृत्व आयो भने विशेष गरी त्यहाँका महिला तथा बालबालिकाले तपाईबाट के अपेक्षा राख्ने ?
सबै ठाऊँमा महिला सहभागिता सुनिश्चीत गराउने मेरो मुख्य लक्ष्य हुनेछ । त्यसका लागि बालमैत्री, महिला मैत्री ,लैङगिक विकास सम्बन्धी निती तथा कार्यक्रम प्रभावकारी बनाउने छु । एक टोल एक वाल उध्यान निर्माण गर्ने छु ।एकल तथा परिवारबाट पीडित तथा सुत्केरी महिलाका लागि छुट्टै प्याकेजको व्यवस्था गर्नेछु ।बालबालिकाको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउन पालिका स्तरमा समयसमयमा विभिन्न प्रतियोगिताहरु संचालन गर्नेछु ।हरेक क्रियाकलाप गर्दा त्यहाँ महिला तथा बालबालिकाको सहभागिता कहाँनेर रहन्छ भनेर सोच्नेछु र सोही अनुसार काम कारवाही अगाडि बढाउनेछु।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





