फेवा गाउँलाई उज्यालो लेकसाइड बनाउँछौं : भट्टराई


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७९ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं ६ का नवनिर्वाचित वडाध्यक्ष विष्णुबहादुर भट्टराईले उज्यालो लेकसाइड बनाउने प्रतिबद्धता जनाएका छन्।

स्थानीय निर्वाचनमा पोखरा महानगरको प्रमुख गन्तव्य वैदाम लेकसाइड क्षेत्रको उक्त वडामा बाजी मारेका भट्टराईले पुरानो फेवागाउँ (वैदाम क्षेत्र)लाई उज्यालो लेकसाइडको रुपमा विकास गर्ने उद्घोष गरेका हुन्।

एभरेस्ट एफएमको ‘पेटबोली’ कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो पहिलो एजेण्डा नै समृद्धियुक्त लेकसाइड बनाउने प्रतिबद्धता रहेको जनाए। २४ घण्टा नै लेकसाइड खोल्नुपर्ने भट्टराईले तर्क राख्छन्।

लेकसाइडको विकासको लागि महानगरदेखि केन्द्र सरकारसम्मबाट बजेट ल्याउने आफ्नो प्रयत्न रहने भट्टराईको प्रतिबद्धता छ।
यसअघिका जनप्रतिनिधिहरुले वडामा कामै नगरी फगत ५ वर्ष विताएको उनको तर्क छ। महानगरकै बजेटबाट समृद्ध लेकसाइड बनाउन सकिने उनको दृढ विश्वास छ।

‘विगतका जनप्रतिनिधिको जस्तो मेरो कार्यकाल अवस्य रहँदैन। महानगरलाई सबैभन्दा बढी कर तिर्ने लेकसाइड क्षेत्रले हो। महानगरभित्रको लेकसाइडकै विकासका लागि चौथाई बजेट आउनुपर्छ। त्यो पहल थाल्नेछु। त्यो सामथ्र्य मसँग छ। महानगरको नेतृत्व जो आएपनि फरक पर्दैन। वेवास्ता गरे, लेकसाइडवासीलाई लगेर महानगर घेर्ने नेतृत्व गर्नेछु।’

लेकसाइड आउने आन्तरिक एवं वाह्य पर्यटकका लागि सार्वजनिक सौचालय छैन। पर्यटकहरुका लागि कुनै रेस्टुरेन्टमा छिरेर कफी खाने बहानामा रेस्ट रुम जानु पर्ने बाध्यता छ। अन्तर्राष्ट्रिय पर्यटकीय सिटिको रुपमा विकास हुँदै गएको लेकसाइडका लागि यस्तो समस्या दुर्भाग्य हो।

‘लेकसाइडवासीले तिरेको करले महानगरका कर्मचारीहरु पालिने, महानगरभित्रकै प्रमुख पर्यटकीय सिटि लेकसाइडमा वर्षौसम्म सामान्य भन्दा सामान्य यस्तो समस्या कायमै राखिरहने ?,’ भट्टराईको प्रश्न छ।

नेपालकै पर्यटकीय गन्तव्य पोखरा। पोखराको पनि प्रमुख गन्तव्य लेकसाइड। साँघुरो सडक रहेको लेकसाइडमा अझैपनि पार्किङको व्यवस्था हुन सकेको छैन। यहाँ जडान गरिएका सोलार लाइट र सीसी क्यामेराहरुले काम गर्न छाडेको छ। बार क्लबबाट निस्केर भित्री होटलहरुसम्म जानका लागि पर्यटकहरुले यहाँको साँघुरो गल्लीहरुमा सुरक्षाको अनुभूत गर्न सक्दैनन्।

लेकसाइडमा बाटोलाई फराकिलो बनाउने कुरामा भट्टराईले संभावना देखेका छैनन्। लेकसाइड क्षेत्रभित्र नै मोटर गाडी प्रवेशमा रोक लगाउनुपर्नेमा उनको जोडदार माग छ। लेकसाइडको हल्लनचोकदेखि खहरेसम्मको क्षेत्र, डिहीको पाटनस्थित क्याम्पिङचोकलाई पार्किङ क्षेत्रको रुपमा विकास गर्न सकिने उनको भनाई छ।

कास्कीमा सरुवा भएर आउने एकथरी जिल्ला प्रशासक तथा प्रहरी अफिसरहरुले बेला बेलामा लेकसाइडलाई ‘नो भेहिकल जोन’ भनेर घोषणा गरिदिन्छन्। उनीहरु सरुवा भएर जान्छन्। उनीहरुको सट्टामा आउने अर्को प्रशासकबाट यस्तो नीति हटाइदिन्छन्।
‘लेकसाइड क्षेत्रमा मोटर गाडी कुँदाउने होइन। यहाँ आउने पर्यटक र स्वयं व्यवसायीहरु पनि हिँड्ने हो। लेकसाइडमा पाकिङसहितको छुट्टै हाटबजारको आवश्यकता छ। मेरो यो सोंच, भिजनलाई छलफलमा ल्याएर कार्यान्वयनमा लैजाने प्रयत्न गर्नेछु,’ भट्टराईले भने।
तर, वैदामका भित्री क्षेत्र र गल्लीहरुमा रहेको होटलहरुमा वास बस्न जाने पर्यटकहरुलाई सुरक्षा प्रदान गर्नु आफ्नो अर्को प्रतिबद्धता रहेको भट्टराईले सुनाए।
वैदाम क्षेत्र, सधैँ फेवातालको मापदण्डसम्बन्धी बहस र चर्चा हुने क्षेत्र पनि हो। तालको मापदण्ड टुंग्याएर कार्यान्वयन गर्ने भट्टराईले प्रतिबद्धता जनाए। सिंगो फेवातालको किनारामा फूटट्रयाकको रिङट्रयाक बनाउने उनले बताए।
फिस्टेल लजदेखि घाँटीछिनासम्म पुगेर ओभर अलमा फेवातालमा फुटट्रयाक बनाउन सकिने भट्टराई धारणा राख्छन्। पर्यटकका लागि ताल वार–पार गर्ने ब्रिजको निर्माण गर्न सकिने उनको धारणा छ। वाराही मन्दिरबाट रत्नमन्दिर हुँदै गौरीघाट, अनदू ठूलाखेतसम्म साना–साना ब्रिज राखेर पर्यटकका लागि हिँड्ने फूटट्रयाक निर्माण गर्न सकिने उनले बताए।
यसअघिको स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमा काँग्रेसले जितेपनि यसपाली भने नेकपा (एमाले)को उम्मेदवार बनेका भट्टराईले बाजी मारेका हुन्। यसअघि, काँग्रेसबाट वडाध्यक्ष जितेका जगतबहादुर पहारीलाई भट्टराईले १ सय ६७ मतान्तरले हराएका हुन्। भट्टराईले १ हजार ६ सय ६ मत ल्याउँदा निकतम प्रतिद्वन्द्वी पहारीले १ हजार ४ सय ३९ मत ल्याए।
यसअघिको निर्वाचनमा वडाध्यक्ष पदबाहेक बाँकी ४ सदस्य सबै एमालेले जितेको थियो। यसपाली भने वडाध्यक्षसहित खुला २ सदस्य एमालेले र महिला सदस्य तथा दलित महिला सदस्यमा नेपाली काँग्रेसले जित हासिल गरेको छ।
खुल्ला सदस्यमा नेकपा (एमाले) उम्मेदवारहरु बासुदेव पौडेल (१४१९) र दीपेन्द्र पहारी (१४०६) ले विजय हात पारे। त्यस्तै, महिला सदस्यमा नेपाली काँग्रेसकी उम्मेदवार पवित्रा थापा (१५२३) र दलित महिला सदस्यमा पनि काँग्रेसकै शोभा जलारी (१६३९) ले जित निकाले।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।