पोखराको मत परिणाम अनपेक्षित : न्यौपाने


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७९ मा प्रकाशित




एमाले गढ मानिने पोखरा महानगरको स्थानीय निर्वाचनको मत परिणाम स्वयं एमालेका लागि अनपेक्षित बनेको छ।

निर्वाचन हुनुअघिसम्म पोखराको मेयर, उपमेयर सहित कम्तीमा पनि १७/१८ वडासम्म पार्टीले जित्ने आंकलन गरेको एमालेका लागि निर्वाचन परिणाम अनपेक्षित बन्यो।

पाँच दलीय गठबन्धनका बाबजुद पनि महानगरको ३३ वडामध्ये आधा जित्ने एमालेको अपेक्षा थियो।

मेयर पदमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत, समाजवादी) धनराज आचार्य भन्दा नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापा ६०४५ मतान्तरले पछि पर्दै पोखरा महानगर गुमाए।

तर, यस पटक पनि उपमेयरमा दोहोरिन सफल नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी नेपाली काँग्रेसकी कोपिला रानाभाटलाई ४०३५ मतान्तरले पछि पार्दै जित हात पारिन्।

पछिल्लो जनगणना अनुसार पोखरा महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये यसपालीको स्थानीय निर्वाचनमा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

यस पटकको स्थानीय निर्वाचनमा गठबन्धनको मुख्य दल काँग्रेसले २३, एमालेले ९ र स्वतन्त्रले १ वडाध्यक्ष जितेको छ।
विपक्षी गठबन्धन र आफ्नै आन्तरिक कमी कमजोरीका कारण निर्वाचनमा हार भएको एमालेको ठम्याई छ।

नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले महानगरमा हार्नुका कारण यिनै विषयहरुलाई प्रस्तुत गर्दछन्।
एभरेस्ट एफएम ९३ मेघाहर्जको पेटबोली कार्यक्रममा बिहीबार बिहान बोल्दै न्यौपानेले यस्तो बताएका हुन्।

न्यौपाने भन्छन्, ‘हाम्रा लागि यसपालीको स्थानीय निर्वाचन अनपेक्षित रह्यो। हाम्रो आफ्नै आन्तरिक कारण पोखरा महानगर गुमायौं। हामीले समीक्षा गर्नुपर्ला। हामीले निर्णय गर्ने र ध्यान दिनुपर्ने कुरामा हामी कहाँ चुक्यौं भनेर गंभीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थानमा उभिएका छौं।’

एमाले आफैमा राष्ट्रिय गठबन्धनले घेरेको चुनौतीबीचमा रहेको उनले बताए। त्यसको प्रभाव राष्ट्रिय राजनीति र निर्वाचनमा परेको न्यौपानेले प्रष्ट पारे। मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसम्म त्यसले प्रभाव पारेको न्यौपानेले बताए। पार्टीले सोंचेभन्दा बलियो र व्यवस्थित गठबन्धनका सामु पार्टीको हार भएको न्यौपानेले श्वीकार गरे। एमालेसँग एक्लै सामना गर्नुवाहेक अर्को विकल्प नरहेको उनको भनाई थियो। गठबन्धनलाई कम आँकिनु एमालेका लागि महङ्गो बनेको उनले बताए।

उम्मेदवार चयनमा कमी कमजोरी रहँदा एमालेले हार्नुका दोस्रो कारण रहेको न्यौपाने बताउँछन्। मेयर पददेखि वडाध्यक्ष र वडा सदस्यका लागि उम्मेदवार चयनमा ल्याप्सेसहरु रहेको न्यौपानेले उल्लेख गरे।

‘सुरुमा एमालेका लागि उम्मेदवार चयनमै खटपट बन्यो। घरी एउटा उम्मेदवार तोकिनु र पछि फेरि फिर्ता लिएर अर्कोलाई उम्मेदवार तोकिनु एमालेका लागि राम्रो भएन,’ न्यौपानेले भने, ‘त्यसो गर्नु पार्टीका लागि बाध्यात्मक स्थिति थियो। त्यसो नगरेको भए, स्थिति अहिलेको भन्दा पनि काबुबाहिर जाने थियो। अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्नुपथ्र्यो।’

आफ्नै कमी कमजोरीका कारण पार्टीले हार्दा टोल–टोलदेखि पार्टीका सबै कमिटीले आत्मसमीक्षा गर्नुपर्ने उनको धारणा छ। पार्टीभित्रैबाट घात–अन्तर्घात भएको उनले श्वीकारे।

‘मतदाताले मत दिदाँदिदैँ पनि पार्टीभित्रैबाट घात–अन्तर्घात भयो। दोष कार्यकर्तामा होइन, नेतामै रह्यो। जहाँ नेताहरु छन्, त्यहाँ समस्या देखियो। यसका लागि रामै्र समीक्षा गरिन्छ। समीक्षा रिपोर्ट पठाइन्छ।’

आफूले समीक्षा बैठक बोलाउने र बैठकमा भएका कुरालाई जिल्ला, प्रदेश र केन्द्रीय कमिटीसम्म लैजाने उनको भनाई छ। तर, आफू भन्दा माथिका कमिटीका सदस्यहरुलाई कारवाही गर्ने अधिकार भने आफूसँग नरहेको उनले तर्क गरे।

देशभरका महानगरसहित उपमहानगर, नगरपालिका र गाउँपालिकाहरुको निर्वाचन परिणामले एमालेमा निराशा जगाएको छ। एमाले हार्नुमा स्वयं पार्टी अध्यक्ष ओलीदेखि केन्द्रीय कमिटी र तल्लो तहको कमिटीसम्मै आ–आफ्ना ढंगले यस्तो समीक्षा र मुल्यांकन गर्नुपर्ने एमाले नेतादेखि कार्यकर्ताको ठम्याई छ।

अघिल्लो पटकको स्थानीय चुनावमा महानगरबाट एमालेले मेयर र उपमेयरसहित २२ वडाध्यक्ष जित्दा काँग्रेसले ११ वडाध्यक्ष जितेको थियो।

०५४ को स्थानीय निर्वाचनमा यस महानगरबाट एमालेबाट मेयर पदमा विजयी मानबहादुर जिसीले ६०११८ मत ल्याएर जितेका थिए। उनका प्रतिद्वन्द्वी रामजी कुँवरले ४६४१६ मत ल्याएका थिए।

तर, यस पाली अनपेक्षित ढंगले नतिजा उल्टियो। यसपाली, पोखरामा निस्किएको मत परिणामले स्वयं गठबन्धनका दलहरु र नेकपा एमालेका लागि समेत अनपेक्षित रह्यो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।