पोखराको लामापाटन क्षेत्रमा सबै भन्दा धेरै वर्षा भएको छ।
गएको २४ घण्टामा यहाँ ६० मिलि लिटर वर्षा भएको हो।
देशमा मनसुन भित्रिएसँगै पोखराका केही स्थानमा हालपनि छिटफुट वर्षा भइरहेको छ।
गण्डकी प्रदेशमै लमजुङमा सबै भन्दा बढी वर्षा भएको छ। गएको २४ घण्टामा लमजुङको खुँदी बजारमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको हो। मनसुन भित्रिएपछि गण्डकी प्रदेशका यि स्थानमा सबैभन्दा धेरै वर्षा भएको हो।
पोखरा र लमजुङसँगै सिन्धुलीमा पनि सबैभन्दा धेरै वर्षा भएको छ। सिन्धुलीको कुसुन्टारमा ८८ मिलिमिटरभन्दा धेरै पानी परेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ।
मनसुन भित्रिएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको हो। वाग्मती, मधेस प्रदेश र प्रदेश–१ को मौसम अहिले सामान्यदेखि पूर्ण बदली भएको छ। बाँकी अन्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली छ।
पूर्वी क्षेत्रबाट आएको बादलका कारण वाग्मती, मधेस प्रदेश र प्रदेश–१ का धेरै ठाउँको मौसम पूर्ण बदली छ। यी प्रदेशका केही ठाउँसहित गण्डकी, कर्णाली र लुम्बिनीका केही ठाउँमा अहिले पानी परिरहेको छ।
यी क्षेत्रका खहरे खोलामा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ। आज (सोमबार) पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।
यस्तै, प्रदेश–१ बाट भित्रिएको मनसुन एक हप्ताभित्र देशभर फैलने अनुमान गरिएको छ। नेपालमा समान्यतया जुन १३ तारिखमा मनसुन भित्रने भनिए पनि यसपालि मनसुन ५ तारिखमै मनसुन भित्रिएको छ।
सतर्कता अपनाऔं
प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद्हरुले बताएका छन्।
वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ। अब पानी लगातार जसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ।
कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना सार्वजनिक गरिने महाशाखाले जनाएको छ। बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन र खोला, नदी आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






