ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा


     एभरेस्ट आवाज    
     जेठ २६ गते २०७९ मा प्रकाशित




तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मस्र्याङ्दी जलविद्युत आयोजनाको ड्यामका कारण १४ घरधुरी उच्च जोखिममा परेका छन् ।

उनान्सत्तरी मेगावाट विद्युत् उत्पादन क्षमता रहेको उक्त आयोजनाको ड्यामले बस्ती डुबान र कटान गर्दै जाँदा त्यस क्षेत्रका बासिन्दाको उठिबास हुने अवस्था सिर्जना भएको हो ।

ड्यामले ऐलानी जग्गा मिच्दै आएर अहिले व्यक्तिका जग्गासमेत कटान गर्दा मानवबस्ती जोखिममा रहेको मस्र्याड्दी जल उत्पन्न प्रकोप सङ्घर्ष समितिका अध्यक्ष विष्णु पराजुलीले बताए ।

मानवीय क्षति हुने खतरा देखिएकाले जतिसक्दो चाँडो आयोजनाले आफूहरुलाई मुआब्जा दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीयवासीले माग गरेका छन् । ड्यामका कारण आँबुखैरेनी–१को ३६ रोपनी जमिन कटान गरेको उनीहरुको गुनासो थियो ।

पर्खाल लगाइदिएर बस्ती सुरक्षित गरिदिन पटक–पटक आग्रह गरिए पनि आयोजनाले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष पराजुलीले जानकारी दिए ।

विसं २०७८ असार १ गते आएको अविरल वर्षाका कारण मस्र्याङ्दी ड्याम आसपास क्षेत्रका बस्तीमा क्षति पु¥याउँदा जोखिम बढ्दै गएको स्थानीय पीडित सुन्दरबहादुर बानियाँले बताए । बाढीले क्षति बनाएको थाहा पाएपछि गत वर्ष असार १५ गते आयोजनालाई जमिन संरक्षणका लागि जानकारी गराइए पनि हालसम्म कुनै सुनुवाइ नभएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको उनको भनाइ थियो ।

हाम्रा पीडामा सुनुवाइ नभए ड्याम खोल्न लगाएर विद्युत् उत्पादन बन्द गराउने, कर्मचारीलाई कार्यालय प्रवेशमा रोक, सडक आन्दोलनगायत कार्यक्रम गरिने छ । स्थानीय तारा मगरले करिब रु डेढ करोडको लगानीमा जग्गा र घर निर्माण गरेर होटल व्यवसाय सञ्चालन गर्दै आए पनि घर भत्किन थालेपछि व्यवसाय गर्न नसक्दा बैंकको ऋणसमेत तिर्न नसकेको गुनासो गरे ।

बस्ती नै उच्च जोखिमा रहेकाले आयोजनाले जग्गा अधिग्रहण गरी मुआब्जाका लागि प्रक्रिया अघि बढाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पृथ्वीराजमार्गसँग जोडिने गरी जग्गा अधिग्रहण गरेर स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थान्तरणका लागि सम्बन्धित निकायमा परिपत्र गरिएको उनले बताए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।