लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०७९ मा प्रकाशित




लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ।

जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य बीमा भएको छ।

यस्तै, अस्पतालमा डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले पनि निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत स्वास्थ्य बीमा कार्यक्रम अनुसार लमजुङमा पनि कार्यक्रम सञ्चालन भएको हो।

स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका अनुसार सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलन, मधेश आन्दोलन र थारुहट आन्दोदनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएका र अस्पतालका नियमित डाइलेसिस सेवा लिइरहेका बिरामीहरुले उक्त सेवा पाएका छन्। सम्बन्धित व्यक्ति र उनको परिवारले उक्त सुविधा पाएका छन्। सरकारले ५ जनासम्मको परिवारलाई ३ हजार ५ सय रुपियाँ तिरेर स्वास्थ्य बीमाको व्यवस्था गर्दै आएको छ। ती लक्षित व्यक्तिको र परिवारको भने सरकारले निःशुल्क बीमा गरिदिएको हो।

वडा कार्यालय वा वडामा रहेको दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा भइरहेको छ। यसअघि, ७५ जनाको स्वास्थ्य बीमा भइसकेको र प्रदेशमा पठाइसकिएको छ। अन्यको बीमा हुँदै छ । ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति मात्रै १ हजार बढी रहेको अनुमान छ। उनीहरुको बीमाको प्रक्रिया अघि बढेको छ। डाइलेसिस सेवा लिइरहेका व्यक्तिहरुका लागि भने सम्बन्धित अस्पतालको सिफारिस पत्र र अन्यको हकमा सम्बन्धित सरकारी निकायबाट विवरण पुष्टि हुने प्रमाण तथा परिचय पत्र संलग्न हुनपर्ने स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय बेंसीशहरका जिल्ला संयोजक अनुपमा रेग्मी पौडेलले बताए।

उनका अनुसार करिव ६० प्रतिशतले स्वास्थ्य बीमा गरिसकेका छन्। जिल्लाका ७५ वटै वडा कार्यालयमा दर्ता सहयोगी छन्। उनीहरु मार्फत बीमा भइरहेको छ। असार १५ गतेसम्म बीमा गर्ने व्यवस्था रहेको जनाएको छ। लक्षित नागरिकलाई वडा कार्यालयमा रहेको दर्ता सहयोगीमार्फत बीमा गराउन स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले अनुरोध गरेका छन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।