बागलुङको जुत्ता–चप्पल उद्योगमा आगो लाग्दा ६५ लाख बढीको क्षति


     एभरेस्ट आवाज    
     असार ४ गते २०७९ मा प्रकाशित




बागलुङ बजारमा रहेको जुत्ता–चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगो लाग्दा ६५ लाख बढीको क्षति भएको छ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा संचालित न्यू धौलागिरी जुत्ता–चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको थियो।

आगलागीका कारण जुत्ता–चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ। मोटर पार्टस्मा रहेका विभिन्न खालका मर्मत सामग्रीमा क्षति पुगेको छ।

दिउँसो पौने ३ बजे विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् संचालन गर्दै आएका थिए।

प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपराह्न ४ बजे आगो नियन्त्रणमा आएको थियो।

आगलागीबाट सोही घरमा बस्ने ६९ वर्षीय सरधुन श्रेष्ठ, ६१ वर्षीय भगवती श्रेष्ठ, ३८ वर्षीय शिव श्रेष्ठ, मशव श्रेष्ठ र उनका ११ वर्षीय छोरा मदप्सन श्रेष्ठलाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरू सबै धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।