विश्व योग दिवसका अवसरमा कठमाण्डौंको सुन्धारास्थित नवनिर्मित धरहरा बत्तीले उज्यालो पारिएको छ। योग दिवसको अघिल्लो रात (सोमबार) धरहरालाई बत्तीले उज्यालो पारिएको हो। सामाजिक सञ्जालबाट साभार तस्बीर
आज जुन २१ तारिक अर्थात विश्व योग दिवस। हरेक वर्ष जुन २१ तारिकका दिन नेपाल लगायत विश्वभर योग दिवस मनाइन्छ।
योग दिवसको अवसरमा राजधानीको सुन्धारास्थित धरहरामा अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गरिएको छ।
योग दिवसको नारा र लोगो कलात्मक ढंगले प्रयोग गरी गरिएको दीप प्रज्वलनबाट धरहरा निकै सुन्दर र आकर्षक देखिएको छ।
‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो।
संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक रहेको भन्दै योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।
प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। यसलाई ९० दिनमा १७७ देशले समर्थन गरेका थिए। यससँगै सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो।
नेपालमा भने माघ १ गते योग दिवस मनाइन्छ। वि.सं. २०३६ मा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा योग दिवस मनाउन थालिएको थियो।
नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए। नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।
योगको अर्थ जोड्नु भन्ने लाग्छ। वास्तवमा अनात्मबाट आत्मालाई छुट्याएर परमात्मासँग जोड्नु नै योग हो। पतञ्जलीको योग दर्शनअनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ। यसरी चित्तमा आउने विकार रोक्नु नै योग हो। शरीर, इन्द्रीय, मन, बुद्धि र अहंकारमाथि विजय प्राप्त गरेपछि आत्माको शुद्ध स्वरुप पाउन सकिन्छ र त्यही शुद्ध स्वरुप प्राप्त गर्ने माध्यम नै योग हो। वेद, उपनिषद्, स्मृति र पुराणमा योगको उल्लेख पाइनुले योग प्राचिन ऋषिमुनिहरूको अनवरत तपस्या र साधनाबाट विकसित भएको मान्न सकिन्छ।
राम्रो स्वास्थ्य, कार्यक्षमतामा वृद्धि, चिन्ताबाट छुटकारा, मानसिक शान्ति, रोग प्रतिरोध क्षमतामा वृद्धि, तन, मन र आत्मा बीचको लयात्मकता, अनावश्यक विचारबाट मुक्ति, सकारात्मक सोचको विकास, उर्जाको केन्द्रीकरण, आन्तरिक शक्तिको सञ्चार, आफ्नो परिस्थितिलाई ठीक ठीक बुझ्ने क्षमताको विकास र आत्म ज्ञान प्राप्ति नै योग हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






