पोखरा महानगरले हरेक ६ महिनामा ३ हजार रोजगारी सिर्जना गर्ने


     एभरेस्ट आवाज    
     असार ८ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिकाले हरेक ६ महिनामा थप ३ हजार रोजगारी सिर्जना गर्ने नीति लिएको छ ।

महानगरपालिकाको बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा आर्थिक वर्षको पहिलो ६ महिनामा ३ हजार थप रोजगारी सिर्जना गर्ने उल्लेख छ ।

त्यसका लागि प्लस टू तहको अध्ययन सकेका पोखरेली युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिवुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, ईलेक्ट्रिसियन, भेटेरीनरी, ईम्व्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजाइन, वेभपेज डिजाइन, भिडियो ईडिटिङ, वेटर आदि जस्ता सीपसंगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न महानगर विशेष स्वरोजगार कार्यक्रम संचालन गर्ने, रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगार बजार, स्वरोजगार, उद्यमशीलता बढाउन मानव संशाधन विकास केन्द्रका रुपमा रोजगार बैंक स्थापना गर्ने नीति लिएको छ ।

महानगरमा रोजगार सूचना केन्द्रको स्थापना गरी स्थानीय, राष्ट्रिय, वैदेशिक तथा निजी क्षेत्रसँग सञ्जालीकरण गरी मागसँग आवद्ध गर्ने, न्युनतम रोजगारीको प्रत्याभूति गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका साथै महानगरपालिकाको विकास निर्माण कार्यलाई समेत स्थानीय रोजगारी सिर्जनासँग आवद्ध गरिने महानगरपालिकाले जनाएको छ ।

बेरोजगारीहरुको सीप र क्षमतालाई आधार लिई तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन गरी श्रम बजारको आवश्यकता अनुसार व्यावसायिक तथा सीप विकास तालिम कार्यक्रम सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको पूर्व अभिलेख राखी आवश्यक तालिमको व्यवस्था गरी वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, महानगरभित्र दक्ष, अर्धदक्ष लगायत सबै प्रकारका श्रमिकहरुको तथ्यांकीय आधार तयार गर्ने नीति महानगरले लिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।