२५ लाखको अक्षयकोष स्थापना


     एभरेस्ट आवाज    
     असार १० गते २०७९ मा प्रकाशित





महोत्तरी । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आफूले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गरेका छन ।आफ्नो पैतृक थलो महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीस्थित श्री शुकदेव माध्यमिक प्राविधिक विद्यालयलाई सचिव पुष्करले रु २५ लाख रकमको अक्षयकोष रकम बिहीबार हस्तान्तरण गरेका हुन ।

अक्षयकोषको रकमको ब्याजबाट सुगाभवानीपट्टी बस्तीका दलित, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्य छ । सचिव पुष्करले कोषबापतको रु २५ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई हस्तान्तरण गरेका हुन ।

कोष रकम हस्तान्तरण समारोहमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, जलेश्वर–४ का वडाध्यक्ष हरिश्चन्द्र महतोसहित सुगाभवानीपट्टी बस्तीका सर्वसाधारणले पुष्करलाई फूलमाला र अबिर लगाइ सम्मान गरेका छन् । पुष्करको आफ्नो ठाउँ र आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयप्रतिको स्नेह र लगाव प्रशंसनीय रहेको नगरप्रमुख सोनारले बताए ।सो अवसरमा पुष्करलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

सुगाभवानीपट्टी बस्तीमा जन्मनुभएका पुष्करले प्रारम्भिक शिक्षा सोही बस्तीको शुकदेव माध्यमिक विद्यालयमा प्राप्त गरेका हुन । श्रीमद्भागवतका प्रथम वाचक विश्वास गरिने महामुनि शुकदेव स्वामीका नाउँमा स्थापित आफू पढेको विद्यालयलाई निरन्तर सहयोग गरी रहने सचिव पुष्करले प्रतिबद्धता जनाएका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।