अकबरे खुर्सानीबाट छ करोडभन्दा बढी आम्दानी


     एभरेस्ट आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित





भोजपुर । व्यावसायिक अकबरे डल्ले खुसार्नी खेती भोजपुरका कृषकको रोजाइमा परेको छ । बजारमा माग राम्रो भएकाले खुसार्नी खेतीमा कृषकको आकर्षण बढेको हो । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् ।

विषेश गरेर भोजपुरको पौवादुङमा गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरेको छ ।गएको वर्ष यसै याममा यस गाउँपालिकामा खुसार्नी विक्रीबाट रु छ करोड ५० लाखभन्दा बढी रकम भित्रिएको गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनुभयो ।गत वर्ष तीन रोपनीमा खेती हुँदै आएकामा त्यसमा वृद्धि गरेर अहिले चार हजार पाँच रोपनी जमिनमा अकबरे खुसार्नीको खेती भइरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

खुसार्नी खेती गर्न इच्छुक कृषकलाई गाउँपालिकाले अनुदानसँगै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । गाउँपालिकामा गएको याममा तीन लाख ५० हजार किलोग्राम हारहारीमा खुसार्नी उत्पादन भएको गाउँपालिकाको भनाइ थियो । खोर्सानी खेती विस्तार भएकाले यस वर्ष उत्पादनमा अझ वृद्धि हुने शाखा प्रमुख राईले जानकारी दिए ।

किसानले उत्पादन गरेको खुसार्नी ठेकेदारले घरमै आएर लैजाने गरेका छन् । यहाँको खुर्सानी, धरान, विराटनगर, झापा, काठमाडाँैलगायत ठाउँमा जाने गरेको छ । गाउँपालिकाले कृषिमा प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि खेती विस्तारमा ऊर्जा मिलेको कृषक निराजन श्रेष्ठले बताए ।
गाउँपालिका खुसार्नी, अण्डा तथा तरकारीमा आत्मनिर्भर रहेको गाउँपालिकाले जनाएको छ । कृषिबाट नै कृषकको आर्थिक अवस्थामा सुधार ल्याउने लक्ष्यले यस क्षेत्रमा लगानी बढाइएको गाउँपालिकाको भनाइ थियो । छवटा वडा रहेको गाउँपालिकाको भौगोलिक बनावट अनुसार छुट्याएर माटो र हावापानी सुदाउँदो खेती लगाउनका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।

गाउँपालिकाले वडा नं ३ च्याङ्ग्रे ४ बास्तिम, ५ सानोदुम्मा, ६ ठुलोदुम्मामा अकबरे खुसार्नी, मौरीपालन र एभोकाडोको खेतीको पकेट क्षेत्र निर्धारण गरेको छ । त्यस्तै वडा नं २ तिवारी भञ्याङको सडकभन्दा माथिदेखि वडा नं १ श्यामशिलाको वडा कार्यालय मुनिको स्थानलाई आलु, बन्दाकोभी र काउलीको खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ काम गरिरहेको छ ।

वडा नं १ श्यामशिलाको माथिल्लो भेगमा किवी खेतीको पकेट क्षेत्र निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यो क्षेत्रलाई हामीले किवी पकेट क्षेत्रका रूपमा विकास गरिरहेका छाँै । अहिले यहाँ दुई दर्जन बढी कृषकले किवीको व्यावसायिक खेती गरिरहेका छन् । कतिपय कृषकले लगाएको किवीले फलसमेत दिन थालेको छ । यहाँको ७१९ हेक्टर जमिन खुर्सानीको उत्पादनशील क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनायो । अहिले ५९० हेक्टर क्षेत्रमा यसको खेती भइरहेको केन्द्रको भनाइ थियो ।

अकबरे खुर्सानीको फाइदा

अरु खुसार्नीका तुलनामा अकबरे खुर्सानीलाई स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अकबरेले रगतमा चिनीको मात्रा घटाउनाका साथै यसले हाडजोर्नीलगायत दुखाइ पनि कम गर्ने स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।विभिन्न आकारका यो खुर्सानीले खाना रुचाउने स्थानीयवासीको भनाइ थियो ।

अकबरे खुसार्नी प्रयोग गरेर बनाइएको परिकारमा किटाणुको सङ्क्रमण कम हुन्छ । यसको सेवनबाट पिसाबको बिरामीलाई समेत फाइदा पुग्छ । यो खुर्सानीको आचार बनाएर पनि प्रयोग गर्न सकिन्छ । दैनिक जनजीवनमा उपयोगी रहे पनि पछिल्लो समय यसको रैथाने बीउ जात भने लोप हुन थालेको स्थानीयवासीको भनाइ थियो । ठूलो गोलो लाम्चो मिठो बास्ना आउने० जातको अकबरे निकै पिरो र सबैले मन पराउने जात हो ।


नियमित सेवन गर्दा मोटोपना घटाउन मद्दत गर्ने अकबरेमा क्याप्सिसीन पाइन्छ । यसबाट पेटसम्बन्धी मात्र होइन अन्य रोगीलाई समेत फाइदा हुनाका साथै पेटमा हुने ग्यास्ट्रिक तथा अल्सरजस्ता रोग पनि निको हुने सम्बद्ध विज्ञले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।