म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उक्त स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपाली गुर्जामा उच्च घनत्वको सात सय कलमी बिरुवा रोपिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए।
निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा ती बिरुवा लगाइएकामा गत वर्ष कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ वटा बिरुवा रोपिएको थियो ।
गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर, घेराबार गरी स्याउको बगैचा बनाएको स्थानीय अगुवा किसान गोर्खा छन्त्यालले बताए । गुर्जाको नाइलीबाङमा २६ किसानले करिब २० रोपनी जग्गामा स्याउ खेती गरेका छन् ।
गुर्जाको स्याउ खेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउ खेती भित्र्याइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउ खेतीप्रति किसानको आकर्षण बढेको छ ।
यसअघि लगाइएको बिरुवामा यसपाली फूल फुलेर फलसमेत लागिसकेको छ । यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिएकामा अपेक्षाकृत सफलता हासिल भएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







