सम्झौता रद्द र दोषीलाई कारवाही गर्न माओवादी पोखराको माग


     एभरेस्ट आवाज    
     असार २२ गते २०७९ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटीले निवर्तमान मेयर मानबहादुर जिसीले गरेको सरकारी जग्ग निजी क्षेत्रलाई दिने सम्झौता रद्द गर्न माग गरेको छ।

मंगलबार विज्ञप्ति निकालेर महानगर अध्यक्ष हरिनारायण गिरी (विज्ञान)ले अपारदर्शी ढंगले सार्वजनिक जग्गा भाडामा दिनुलाई अपराधको संज्ञा दिए। त्यसको निष्पक्ष छानबिन गरी कानुनी कारवाहीका लागि समेत उनले माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिगत स्वार्थका लागि सार्वजनिक पद र सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई कुनैपनि आधारमा न्यायोचित मान्न सकिँदैन।’

सबै राजनीतिक दल चुनाव केन्द्रीत गतिविधिमा रहेका बेला प्रक्रिया मिचेर व्यक्तिगत लेनदेनमा यस्तो सम्झौता भएको उनको आरोप छ।

पोखराका निवर्तमान मेयर मानबहादुर जिसीले बिदाई हुनु २ दिनअघि ३ ठाउँका ६८ रोपनी जग्गा निजी क्षेत्रलाई भाडामा दिएका थिए। पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेका ती जग्गा निकै सस्तो भाडादरमा निजी क्षेत्रलाई दिइएको छ।

पर्यटन बसपार्क र गल्फकोर्स र पृथ्वीचोकको यातायात कार्यालय छेउको जमिन जिसीले प्रक्रिया मिचेरै भाडामा दिएका हुन्।

महानगरका मेयर नै उपत्यका नगर विकास समितिको अध्यक्ष हुने व्यवस्था छ। समितिका सदस्य सचिव र सदस्यहरुलाई थाहै नदिई जिसीले सम्झौता गरेको पुष्टि भएपछि यसको चौतर्फी विरोध भएको छ।

मेयर धनराज आचार्यले सम्झौताबारे आफूलाई सोमबार मात्र थाहा भएको जनाउँदै आवश्यक छानबिन गरी कानुन अनुसार अघि बढ्ने बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।