लमजुङमा मापदण्ड नपुगेका ३७ उद्योग खारेज


     एभरेस्ट आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित




मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने लगायत मापदण्ड नपुगेको उद्योग खारेजीमा परेका हुन्।

चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ गते (मंगलवार)सम्म उक्त किसिमका उद्योग खारेजीमा परेको कार्यालय प्रमुख मीता थापाले बताइन्। उनका अनुसार सो अवधिमा ६७९ नयाँ उद्योग दर्ता भएका छन्।

सो अवधिमा २८२ घरेलु उद्योगको नवीकरण भएको कार्यालयको तथ्यांक छ। गत आर्थिक वर्ष २०७७/७८ मा ९७० नयाँ उद्योग दर्ता र ३६९ उद्योग नवीकरण भएका थिए।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ११ उद्योग खारेज गरेको थियो। सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ वटा उद्योग नवीकरण गरिएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ६ उद्योग खारेज गरिएका थिए।

सो आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण गरिएको थियो। कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा १० उद्योग खारेज गरिएका थिए। सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण गरिएका घरेलु कार्यालयको तथ्यांक छ।

त्यस्तै, वाणिज्यतर्फ चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि असार २१ सम्म ७२ फर्मको दर्ता खारेजी गरिएको कार्यालय प्रमुख थापाले बताइन्। ‘यस अवधिमा ४०८ नयाँ फर्म दर्ता भएका छन्। २८८ ओटा व्यावसायिक फर्म नवीकरण गरिएका छन्,’ उनले भनिन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।