तनहुँका विभिन्न पालिकाका प्रमुखहरूले सरकारी र निजीक्षेत्रको सहकार्यबाट मात्रै विकास सम्भव हुने बताएका छन्।
तनहुँ उद्योग वाणिज्य संघले शनिवार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजीक्षेत्रको संभावना र सहकार्यसम्बन्धी छलफल कार्यक्रममा उनीहरूले सो धारणा व्यक्त गरेका हुन्।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजीक्षेत्र विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजीक्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए। व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले निजीक्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीयस्थलको प्रवद्र्धन र विकासमा काम गर्न ईच्छुक रहेको बताए।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजीक्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीय स्थलको विकास गर्न तयार रहेको बताए।
‘वस्तु आयात गरी विक्री गर्नुभन्दा उद्योग स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य संघले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग संचालन गर्नेतर्फ ध्यान दिन आग्रह गरे। यसका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताए। महिला उद्यमी सभापति शकुन्तला आलेलगायतले निजीक्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताइन्।
भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजीक्षेत्र र स्थानीय सरकारको सहकार्यबाट मात्रै विकास संभव हुने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको उपस्थिति थियो। सो अवसरमा जिल्ला समन्वय समिति तथा विभिन्न पालिकाका प्रमुख एवं उपप्रमुखहरूलाई सम्मान गरिएको थियो।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







