तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित


     एभरेस्ट आवाज    
     असार २७ गते २०७९ मा प्रकाशित




नवलपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले नवलपुरका कृषक लाभान्वित भएका छन् ।

नवलपुरका तीन स्थानीय तहका १६ वडालाई समेटी तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको हो । कावासोती नगरपालिकाको वडा नं ४, ९, १० १२, १५, १६ र १७, मध्यबिन्दु नगरपालिकाको वडा नं १, २, ३, ६, ९ र हुप्सेकोट गाउँपालिकाको १, २, ३, ४ वडालाई समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ ।

तरकारी जोन कार्यक्रम आर्थिक वर्ष २०७६÷०७७ बाट सुरु भएको हो । परियोजना सुरु हुनुपूर्व यी क्षेत्रमा तरकारी खेतीको क्षेत्रफल ५१२ हेक्टर रहेको थियो । हाल क्षेत्रफल विस्तार भएर ६६० हेक्टर पुगेको छ । तीन स्थानीय तहका ९९ समूह, छ सहकारी र ५२ उद्यमी गरेर १५७ तरकारी जोनमा आबद्ध छन् भने दुई हजार ३५५ घरधुरी तरकारी जोनमा संलग्न छन् । नवलपुर जिल्ला कृषिमा अब्बल मानिन्छ ।

यहाँ व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्या बाक्लै छ । परियोजना सुरु हुने अघि नै धेरै किसान तरकारी खेतीमा लागेका थिए तर परियोजना लागू भएपछि किसान थप हौसिएका छन् । धेरै नयाँ किसानसमेत तरकारी खेतीमा आकर्षित भएका छन् । परियोजनाबाट प्राप्त सहयोग र परामर्शले तरकारी खेती गर्ने कृषकलाई ठूलो राहत मिलेको छ ।

जोनमा आबद्ध हुप्सेकोट–१ जुकेपानीको लेकबेँसी कृषक समूहका कृषक शङ्कर थापाले तरकारी जोन परियोजना लागू भएपछि मलचिङ, स्प्रे ट्याङ्की, जोख्ने काँटालगायतका सामग्री पाउँदा कृषक निकै उत्साहित भएको बताए। परियोजनाका बारेमा जानकारी नहुँदा पालिकामा मात्रै निर्भर रहनुपरेको, पालिकाबाट सानो सहयोग हुने गरेकोमा परियोजनामा आबद्ध भएपछि कृषकलाई आवश्यक धेर सामग्री अनुदानमा पाउँदा लागत घटेको उनले बताए ।

जुकेपानीकै सुनौलो महिला कृषक समूहकी अध्यक्ष कृष्णमाया रानामगरले तरकारी जोन कार्यक्रमबाट किसानलाई धेरै कुरामा सहज भएको बताए । तरकारी जोन परियोजनाअन्तर्गत जिल्लामा विशेष गरेर काँक्रा र टमाटर खेतीलाई प्राथमिकता दिएको छ ।

त्यसबाहेक आलु, बोडी, भिन्डी करेला, घिरौँला, खुर्सानीलगायतका तरकारी खेती गरिन्छ । परियोजना नहुँदा किसानले उत्पादन सामग्री सबै आफ्नै खर्चमा किन्नुपर्दा लागत बढी लाग्ने गरेको थियो । अहिले अनुदानमा सामाग्री पाएपछि भने उत्पादन लागत घट्दा नाफा बढी भएको किसान बताउछन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।