अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ।
डलरको तुलनामा सोमवार भारतीय रुपया (भारू) इतिहासकै कमजोर बनेपछि भारूसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ पनि कमजोर बनेको हो।
नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रतिडलर विनिमय दर १२७ रुपैयाँ ४१ पैसा तोकेको थियो। मुद्रा बजारमा १ डलरका लागि नेपालीले यति धेरै मूल्य चुकाउनु परेको यो पहिलोपटक हुनेछ। यसअघि, गत साता बुधवार डलरको मूल्य १२७ रुपैयाँ ३० पैसाको कीर्तिमानी स्तरमा पुगेको थियो।
त्यसयता, केही सुस्ताएको डलरको भाउले मंगलवार नयाँ कीर्तिमान कायम गरेको हो। भारतीय मुद्रा बजारमा सोमवार कारोबार बन्द हुँदा डलरको तुलनामा भारूको भाउ २२ पैसाले घटेर ७९ रुपया ४८ पैसामा आएको थियो।
सीमापार डलर बलियो बनेका बेला घरेलु शेयर बजार ओरालो लागेपछि यस दिन भारू दबाबमा परेको हो। तर, विश्व बजारमा कच्चा तेलको भाउ घट्दा भारूको भाउले टेवा पाएको मुद्रा व्यापारीहरूले बताएका छन्।
डलरको मूल्य वृद्धि हुँदा नेपालीलाई फाइदा घाटा दुवै हुने भए पनि घाटा बढी छ। डलर महँगो हुँदा महँगी बढ्छ। स्वदेशमै उत्पादन गर्न सकिने सामान्य कृषि वस्तुदेखि ठूलाठूला मेशिन औजार, मोटरगाडी, हवाईजहाज, औषधि, यन्त्र उपकरणसम्म आयात गर्ने नेपालमा हरेक चिजको भाउ बढ्छ।
डलर महँगिँदा भान्छामा प्रयोग हुने दाल, तेल, मसलादेखि लत्ता कपडासम्मका लागि बढी रकम खर्च गर्नुपर्ने हुन्छ। महँगो डलर तिरेर आयात गर्दा इन्धनको मूल्य बढ्छ। यसले ढुवानी लागत बढाउँछ। ढुवानी खर्च बढी हुँदा स्वदेशमै उत्पादन हुने वस्तुहरू पनि महँगिन्छन्।
जलविद्युत्, निर्माणलगायत ठूला परियोजनाले प्रयोग गर्ने मेशिन औजार पनि डलर तिरेर आयात गर्नुपर्ने हुँदा त्यस्ता आयोजनाको लागत बढ्छ। सरकारले विदेशबाट लिएको ऋणको साँवाब्याज पनि डलरमै भुक्तानी गर्नुपर्छ। डलरको मूल्य वृद्धिले सरकारको वित्तीय दायित्व बढ्छ। डलरको मूल्य वृद्धिले विदेशमा बसेर कमाउने नेपालीका परिवारलाई भने लाभ हुन्छ। डलरको भाउ बढेका बेला विदेशमा बस्नेले उत्ति नै रकम पठाउँदा पनि यता परिवारले पाउने रकम बढ्छ।
तर, सर्वसाधारणको हातमा बढी पैसा पुग्दा महँगी अझ माथि उक्लिन्छ। महँगो डलरले पर्यटन क्षेत्रलाई पनि लाभ पुग्छ। नेपाल घुम्न आउने भारतबाहेक अन्य मुलुकका नागरिकसँग डलरमै भुक्तानी लिने हुँदा विदेशीलाई सेवा दिने होटेल, रेस्टुराँ, वायुसेवा कम्पनीलाई फाइदा हुन्छ। विदेशी विनिमयको तुलनामा स्वदेशी मुद्रा कमजोर हुँदा फाइदा हुने अर्को क्षेत्र निकासीमूलक उद्योग हुन्।
अभियान डेलीमा समाचार छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






