अब, पोखरामा क्याथ ल्यावको सेवा, आज उद्घाटन

- मुटुको समस्या भएका गण्डकी प्रदेश क्षेत्रका विरामी लक्षित सेवालाई रोटरी क्लब र रोटरियनहरुको साथ


     बाबुराम वराल     
     असार ३० गते २०७९ मा प्रकाशित




स्वास्थ्य समस्या कसैलाई आइ नपरोस्। अझ मुटुको समस्या त कसैलाई नहोस। यो हाम्रो कामना हो। मुटुको धडकन छ त जीवन छ, नत्र छैन। अझैं भनौं मानिस स्वस्थ भइरहनु पर्छ। र, स्वस्थ जीवनयापन गर्न पाउनुपर्छ। यदी यसो हो भने स्वस्थ नागरिक भएको त्यही देश नै समृद्ध देश हुन्छ भन्ने कुरालाई कल्ले पो नकार्ला !

मानव शरीर हो कतिबेला के के आइपर्छ। सकेसम्म त रोग लाग्नै नदिने, डाक्टर, स्वास्थ्यकर्मीले दिएको परामर्शलाई लागू गर्नुप¥यो। सजगता अपनाउँदा अपनाउँदै पनि स्वास्थ्य समस्या आई हाल्यो भने द्रूत गतिमा उपचारका लागि स्वास्थ्य संस्थामा जानु प¥यो।

मानिसमा धेरै प्रकारका स्वास्थ समस्याहरु देखिने गर्छन्। जसको उपचार तत्काल हुन पाएन भने ज्यान जोखिममा पर्न सक्छ। एउटा प्रमुख रोग हो मुटुको समस्या। यो समस्या देखिएको ३० मिनेटमा डाक्टरसम्म पुग्न सकियो भने विरामीलाई जोखिमबाट मुक्त गराउन सक्ने संभावना बढी हुन्छ। ढीलो भइहाल्यो भने ९० मिनेटसम्मको अवधिलाई संभावनायुक्त मानिन्छ।

अन्य रोगहरुभन्दा भिन्न र संवेदनशील छ, मुटुको उपचार। यसको उपचारको लागि गण्डकी प्रदेशवासीलाई पहिले पोखराबाहिर उपचारको लागि जानुपथ्र्यो। खर्च पनि उत्तिकै हुने र हेलिकोप्टरकै सेवा लिनु परे भनेपनि डेढ लाख त जुटाउनै पथ्र्यो। अनि, भन्नेबित्तिकै पैसा कहाँबाट जुटाउने ? जुटाईहाले पनि खर्च त भयो। अझ पैसा नहुनेका लागि कस्तो अवस्था आउँथ्यो ? गंभीर छैन त ? हो, यसैको आवश्यकता परिपूरणका लागि अगाडी सरेको छ, रोटरी क्लव अफ पोखरा। यहाँका सबै रोटरी क्लवहरुको संयुक्त प्रयासमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना र जडान गरिएको छ, क्याथ ल्याव।

क्याथ ल्याव मुटुका समस्या भएकाहरुको जाँचका लागि गएको माघमा जडान भएपछि अब यसको औपचारिक उद्घाटनको चरणमा आएको छ। मुटुको उपचारका लागि जडान गरिएको क्याथ ल्यावाट एन्जिओग्राम, एन्जियोप्लाष्टी र मुटुको शल्यक्रियाका लागि आवश्यक जाँच गरिन्छ। यो आधुनिक अमेरिकी उपकरण हो। जो आइजीएस ३२० अप्टिमा ब्राण्डको रहेको छ।

विशुद्ध नागरिकको स्वास्थ्य सेवाका लागि हामीले सन् २०१८ मा क्याथ ल्याव जडानको अवधारणा बनायौं। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र हामिबीच ‘रोटरी मुटु उपचार केन्द्र’ परियोजना पोखराको नाममा सम्झौता पनि भयो। त्यसपछि लगातारको प्रयास जारि रह्यो। मेसीन खरिदका लागि हामीले आवश्यक रकम संकलनतिर लाग्यौं। यसमा देश–विदेशमा रहेका रोटरी क्लवहरुको प्रमुख हात छ। यसमा रोटरी डिष्ट्रिक तथा रोटरी फाउण्डेशनले सघायो। जसबाट हामीले ४ करोड ७८ लाख संकलन गर्न सक्यौं। यसमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थपिएको खर्चसहित जम्मा यो परियोजनाका लागि सााढे ५ करोड खर्च भएको छ।

रकम संकलनमा नेपालका ८ रोटरी क्लवबाट २ करोड, विदेशी क्लवबाट १ करोड, ४ वटा रोटरी अन्तराष्ट्रिय डिष्ट्रिकबाट करिब १ करोड संकलन भएको छ। यसमा द रोटरी फाउण्डेशनसहितको गरेर ४ करोड ७८ लाख र प्रतिष्ठानबाट थपिएको गरेर साँढे ५ करोड लागत छ।

सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याव जडान

पोखरामा क्याथ ल्याव जडान गर्नुको एउटै उद्देश्य सबैका लागि मुटुको समस्याबाट ज्यान जोखिममा पर्न नदिन र स्वस्थ बनाउनकै लागि हो। यहाँबाट कयौं रकम खर्च गर्न काठमाडौं वा बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न नै हो। सबैभन्दा ठूलो कुरा नागरिकको स्वास्थकै लागि हो। सबै प्रदेशबासीलाई सर्वसुलभ सेवा दिनका लागि क्याथ ल्याव जडान हो। अहिले उद्घाटनको चरणमा आइपुग्नु यस क्षेत्रकै गौरवको कुरा पनि हो।

पश्चिमाञ्चल अस्पतालमा अहिले मुटु रोग विशेषज्ञका रुपमा ३ जना डाक्टरहरु छन्। सबै कुराको काम हुने भएपनि अप्रेसनको कामको लागि विशेषज्ञ सर्जनको लागि तत्काल अस्थायी रूपमा व्यवस्था गरिएको छ। तर, यसको दीर्घकालीन व्यवस्थाको खाँचो छ। यसको व्यवस्था पनि छिट्टै होला। आशा गरौं।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्यावको आज (असार ३० गते) उद्घाटन गर्न लागिएको छ। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङ, गण्डक प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, रोटरी इन्टरनेशनल वर्ष २०२१÷२०२२ का अन्तराष्ट्रिय अध्यक्ष शेखर मेहता आउने कार्यक्रम छ। आजको दिन रोटरी क्लव अफ पोखरा र सबै रोटरी क्ल्वहरुको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जडान गरिएको क्याथ ल्यावको संयुक्त रुपमा हस्तान्तरण हुनेछ।

यस क्याथ ल्याव स्थापनाका लागि एउटा संयोजकको भूमिकामा रहेको नाताले अब पोखरालाई संघीय राजधानीपछिको सुविधासम्पन्न अस्पताल र अध्ययन केन्द्र बनाउनका लागि यो कार्यले मियोको रुपमा काम गर्ने आवश्यकता बोध गरिएको छ। अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीको पढाई सुरू भएको छ। त्यस्तै, डीएम, एबीबीएसको पढाई पछि सुरु हुने लक्ष्य छ। यसलाई हामीले स्वास्थ्य उपचार केन्द्रका रुपमा मात्रै नलिएर स्वास्थ्य क्षेत्रको अध्ययन, अनुसन्धानको केन्द्रको रुपमा पनि लिएका छौं।

रोटरीको ७ वटा क्लवको तर्फबाट समितिमा बाबुराम बराल, माधव प्रसाद सिग्देल, बिनोद प्रसाद हेज्यू, बिश्वप्रसाद कर्माचार्य, बाबुराम पाठक, जयराम पौडेल र अब्राहम खान छन्।

यस्तै, रोटरी क्लब अफ पोखरा सहायोग समितिमा ज्ञानेन्द्रप्रसाद सिग्देल, रामचन्द्र थापा, उदिप श्रेष्ठ, मीनु श्रेष्ठ कुँवर, राजेन्द्र श्रेष्ठ, जितेन्द्र सिग्देल, बिनयकुमार श्रेष्ठ, कपिल किरण श्रेष्ठ र सल्लाहाकार किरणलाल श्रेष्ठ छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।