पोखरा । पोखरा महानगरपालिका–२७, २९ र ३३ को त्रिवेणी मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा एक महिने अखण्ड हरिनाम सङ्कीर्तन आजदेखि सुरु भएको छ ।
कर्दम–कश्यपजस्ता ऋषिमुनिको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा आजदेखि महिनाभर लोक कल्याणको कामना गर्दै अखण्ड हरिनाम सङ्कीर्तन सुरु गरिएको नर्मदेश्वर मोक्षाश्रमधाम संरक्षण समितिका अध्यक्ष झविन्द्रराज आचार्यले बताए ।
प्राचीनकालदेखि साधकको अभिलाषा पूर्ण गर्ने तीर्थस्थलका रूपमा परिचित भए पनि यस तीर्थस्थलको आवश्यक प्रचारप्रसार भने हुन नसकेको उनले बताए ।
अखण्ड सङ्कीर्तनको एक कार्यक्रमकाबीच आज शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा धार्मिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य भएको उल्लेख गर्दै यहाँका धार्मिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पवद्र्धनमा जोड दिइने बताए । पोखरा–मुक्तिनाथ जाने मुख्य मार्गसमेत रहेका कारण यहाँ कलात्मक मुक्तिक्षेत्र प्रवेशद्वार निर्माण गर्ने योजना रहेको उनले बताए ।
स्वामी ऋषिप्रपन्नाचार्यले पछिल्लो समय धार्मिक क्षेत्रमा विभिन्न विकृति बढिरहेको उल्लेख गर्दै संस्कृतिसँग जोडिएका मठमन्दिर र गाईको संरक्षणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा पोखरा महानगरपालिकाका–७ का अध्यक्ष राममोहन आचार्य, २७ का पूर्णकुमार गुरुङ, २९ का श्रीप्रसाद गुरुङ, ३१ का ढकनाथ कँडेल र ३३ का अध्यक्ष रामचन्द्र अधिकारी, संरक्षण समितिका उपाध्यक्ष नारायणी चापागार्इँ, सह कोषाध्यक्ष सुकमाया सुनारलगायतले निर्माणाधीन मन्दिरलाई पूर्णता दिनुपर्नेमा जोड दिए ।
तीर्थस्थलको महत्वलाई थप उजागर गर्दै पूर्वाधार विकासका योजनालाई अघि बढाएको समितिले धाम परिसरमा द्वादश ज्योर्तिलिङ््ग स्थापना गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । बाह्र रोपनीमा फैलिएको मन्दिर परिसरमा सर्वेश्वर शिव, श्रीरामचन्द्र, श्रीकृष्ण आदि भगवान्का लीला शैलीमा आधारित कलात्मक मूर्ति रहने बताइएको छ ।
समितिले धाममा साधु, सन्त, वृद्धवृद्धा, ब्रम्हचारी, बटुक र भक्तजनका लागि भोजन, आवासलगायत सेवा उपलब्ध गराउँदै आएको छ । उक्त कार्यका लागि मुठ्ठीदानको आह्वान गरिएको छ । गुरुयोजनानुसार पूर्वाधार निर्माणका लागि रु आठ करोड आवश्यक पर्ने बताइएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







