पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी


     एभरेस्ट आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित




पर्वत जिल्लामा अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ।

सिँचाइको सुविधा भएका र खोलानालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भएपनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन्।

कृषि ज्ञानकेन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार आइतवारसम्म जिल्लामा करिब ६० प्रतिशत रोपाइँ पूरा भएको छ। धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानीको अभावका कारण करिब आधा जति रोपाइँ नभएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उनको भनाई छ। पाङ, कटुवाचौपारी, फलेबासलगायतका राम्रो धान उत्पादन हुने क्षेत्रमा नै रोपाइँ भएको छैन। करिब ६० प्रतिशत रोपाइँ भएको छ।

‘थोपाथोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका छन्,’ उनले भने, ‘वर्षा नै नभएपछि कसलाई के पो दोष लगाउनु ?’

दिनभर चर्को घाम लाग्दा पानीका मुहान सुकेर गर्मीका कारण कृषक पनि घरभित्र बस्नुपर्ने अवस्था रहेको छ। फलेबास नगरपालिका, पैँयु गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिका धान उत्पादनका मुख्य क्षेत्र हुन्। डाँडाकाँडामा रहेका ती ठाउँमा वर्षा भएपछि उर्लिएर आउने खहरेको भर परेर रोपाइँ हुने गरेको छ। वर्षा नभएका कारण खहरे नै नउर्लिएका कारण रोपाइँ भएको छैन।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।