तनहुँमा कोभिडबाट मृत्यु भएका परिवारलाई ६८ लाख राहत वितरण


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित




स्वास्थ्य कार्यालय तनहुँले कोभिडबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ।

कोभिडबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष २०७८÷०७९ मा ६८ लाख ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो।

कार्यालयले कोभिडबाट मृत्यु भएका १३७ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिएकाम छन्। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसम्बन्धी अवधारणापत्र, २०७८ बमोजिम राहत प्रदान गरिएको अधिकारीले उल्लेख गरे।

कार्यालयले जिल्लाका १० वटै पालिकामार्फत कोभिडबाट मृत्यु हुनेको विवरणसहित निवेदन माग गरेको थियो। उनका अनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै राहत रकम वितरण गरिएको छ।

‘कार्यविधिअनुसार अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्र आर्थिक सहायता दिइएको छ, होम आइसोलेशनमा मृत्यु भएकाले रकम पाउँदैनन्,’ उनले भने।

आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजिटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेश गर्नुपर्ने प्रावधान थियो।

आर्थिक राहत लिनका लागि १६९ परिवारले निवेदन दिए पनि अन्यको कागजात नमिलेका कारण राहत प्रदान गर्न नसकिएको कार्यालयले जनाएको छ।

’कागजात नमिलेका कारण अन्यलाई राहत दिन सकेका छैनौँ, तनहुँ ठेगाना भई एक विदेशमा मृत्यु भएका परिवार र प्रक्रिया पुगेका २ लाई पनि राहत रकम वितरण गर्न बाँकी छ,’ अधिकारीले भने।

प्रदेश सरकारले कोभिडबाट मृत्यु भएका परिवारलाई राहत रकम दिएपनि जिल्लाका पालिकाले पनि राहत रकम वितरण गरेका थिए। विभिन्न पालिकाले आफ्ना पालिकाभित्रका नागरिकको परिवारलाई राहत रकम प्रदान गरेका थिए। तनहुँमा कोभिड–१९ बाट ६४ महिला र ९७ पुरुषसहित १६१ को मृत्यु भएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।