म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने ९ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर ६३ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व संकलन गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार १ हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा १४ लाख ४३ हजार, १ हजार ३४४ ट्रयाक्टर चालकबाट ८ लाख ९९ हजार, ४ हजार ४३६ जिप/कार चालकबाट २९ लाख ६२ हजार, ५३६ बस चालकबाट ३ लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट ७ लाख ६२ हजार जरीवाना असुली भएको छ।
सबैभन्दा बढी वैशाखमा १ हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा ९ लाख १५ हजार जरीवाना असुली भएको नेपालीले जानकारी दिएका छन्।
आव २०७७/७८ मा ४ हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर ३० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। आव २०७६/७७ मा ३ हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर २२ लाख १९ हजार, २०७५/७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट ४१ लाख ९३ हजार र आव २०७४/७५ मा ८ हजार ४०० सवारीसाधनका चालकबाट ५७ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरिएको नेपालीले बताए।
गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। ९ जना गम्भीर र ९ सामान्य घाइते भएका थिए। प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







