राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित




नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्दैछ।

अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन्।

त्यसअघि, आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ। बैठकले मौद्रिक नीति पारित गर्नेछ। सोही मौद्रिक नीति दिउँसो सार्वजनिक गरिनेछ।

मौद्रिक नीतिबारे गभर्नर महाप्रसाद अधिकारीले बिहीबार साँझ अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गरेका थिए। त्यसअघि, उनले अर्थ सचिव, राष्ट्रिय योजना आयोगका अध्यक्ष लगायतलाई पनि जानकारी गराएका थिए।

यस वर्ष राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत यसअघि नै गरिसकेको छ। गभर्नर अधिकारीले अर्थतन्त्रको दबावलाई निकास दिने गरी मौद्रिक नीति आउने बताएका छन्। उनले विभिन्न बैठक तथा सार्वजनिक कार्यक्रमहरुमा विगतको भन्दा कसिलो नीतिका लागि तयार रहन पनि भन्दै आएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।