गोरखाको भीमसेन थापा गाउँपालिकाको वडावडामा गर्भवतीलाई निः शुल्क भिडियो एक्सरे सेवा


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७९ मा प्रकाशित




गोरखाको भीमसेन थापा गाउँपालिकाले वडावडामा पुगेर गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गरेको छ।

गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिनेका लागि निःशुल्क भिडियो एक्सरे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिएका छन्।

गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने उद्देश्यले पालिकाभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ‘ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम’ संचालन गरी सेवा सुरु गरेको उनले बताए।

‘प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिमप्राप्त दक्ष जनशक्ति परिचालन गरी प्रत्येक वडाका स्वास्थ्य संस्थामा तालिकाअनुसार स्वास्थ्यकर्मी परिचालनको व्यवस्था मिलाएका छाँै”, उनले भने, ‘तिनै स्वास्थ्यकर्मीबाट वडामा गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा नियमित जानकारी लिन्छौँ।’

गाउँपालिकामा ‘फोकल पर्सन’ नभएकाले तत्कालका लागि भने नजिकै रहेको छिमेकी बारपाक सुलिकोट गाउँपालिकाबाट बोलाएर उहाँहरुकै नेतृत्वमा सेवा संचालन गरिरहेको शाखा प्रमुख खनालले जानकारी दिए।

‘यसअघि गर्भवतीलाई भिडियो एक्सरेका लागि गोरखा अस्पताल वा सदरमुकाम नै धाउनुपर्ने बाध्यता थियो, उनले भने, ‘अब त्यो बाध्यता हटेको छ।’

वडावडामा पुगेर निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेसँगै अब कोही पनि गर्भवतीले आफ्नो गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि नछुट्ने उनले बताए।

‘यसअघि पनि हामीले अस्पतालमा पुगेर नियमित गराउनका लागि जनचेतना प्रदान गर्ने काम त गरेका थियौँ,’ प्रमुख खनालले भने, ‘तर कतिपयले जानुहुन्थ्यो, अब गाउँमा सुविधा भएपछि कोही छुट्दैनन् भन्ने विश्वास छ।’

अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा उपलब्ध गराउँदा समयमै समस्याको पहिचान गरी उपचार गर्नसक्ने अवस्था सिर्जना भएको प्रमुख खनालको भनाइ छ।

‘सेवा सुरु गरेको छोटो अवधि २ जना गर्भवतीलाई जोखिमबाट सुरक्षित गर्नसकेका छौँ, उनले भने, ‘एक जना महिलाको तत्काल शल्यक्रिया गर्नुपर्ने र एक जना महिलाको शिशुको स्वास्थ्य अवस्था ठीक नभएको पाइएपछि आमाको सुरक्षाका लागि गर्भपतन गर्न सुझाव दिएकाले समयमा गर्भपतन गर्दा ज्यान खतराबाट जोगिएको छ।’

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएकाले गाउँपालिकाले वडामा नियमित तालिका बनाएर सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ। सार्वजनिक बिदाको दिन पनि सेवा संचालन हुने गाउँपालिकाले जनाएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।