पोखरा । पोखराको पर्यटकीय गन्तव्य रुपातालमाथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को मिलनविन्दु सिमलटुँडामा बनेको झोलुङ्गे पुलको मंगलबार उद्घाटन गरियो । पुलको गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा सांसद दीपक कोईरालाले उद्घाटन गरेका हुन् ।
भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार ७ सय ३० रुपैयाँमा बनेको हो । पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर छ । पुलको क्षमता प्रति मिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय कास्कीले हेरेको सो पुलको निर्माण एम÷एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो । २०७६ साल जेठ २१ गते एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण गर्ने भनिएपनि कोभिडका पुलको लठ्ठा भारतको पञ्जावबाट नआउँदा २०७९ साल असार ३० गतेसम्मका लागि समय थप गरिएको थियो । थपिएको मिति सकिन ६ दिन बाँकी रहँदा गत असार २४ गते पुल निर्माण कम्पनीले पुल निर्माणको काम सकेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर थापाले बताए ।
पुल निर्माणसँगै पोखरा–३१ र रुपा–६ आपसमा जोडिएका छन् । यसअघी तालले छुट्टिएका यी दुई ठाउँ पुल निर्माणपछि भौतिक रुपमा जोडिएका हुन् । उसो त पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पुल निर्माण भएर उद्घाटन नहुँदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानियले बताए ।
पुल निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति तथा एवम् सांसद दीपक कोईरालाले पुल विकास र समृद्धिको वाहक बनेर आएको बताए । पचभैया, सिमलटुँडालगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने यो एउटा प्रयास हो,उनले भने,‘किनकी यो पोखरा र रुपा जोड्ने कनेक्टिङ रोड हो, आवतजावतमा सहज त बनाउँछ नै । सँगसँगै पर्यटकीय गतिविधि पनि बढाउँछ ।’ उनले संघ सरकार भएकै कारणले पुल बनेको दाबी गर्दै उनले अगाडि भने, ‘यस्ता क्षेत्र संघ सरकारको प्राथमिकतामा पर्दैन, स्थानियले सक्दैन । यो प्रदेश सरकार भएकैले सम्भव भएको हो, यसले संघीयतालाईपनि पुष्टि गर्छ ।’ प्रदेश सरकारले आफ्नो बलबुताले भ्याए र सकेसम्म गरिरहेको भन्दै उनले व्यक्तिले गलत ग¥यो भन्दैमा प्रदेश सरकारलाई गाली गर्न नहुने बताए । ‘कसैले गलत ग¥यो भन्दैमा संघीयता, प्रणाली नै गलत भन्नु हुँदैन ।’–उनले भने ।
पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारीपनि थप्ने विश्वास व्यक्त गरे ।
होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी दामोदरभक्त थापाले पुल निर्माणसँगै पर्यटक बढ्ने आशा व्यक्त गरे । उनले भने,‘पुलले दुई गाउँ र दुई ठाउँ मात्र जोडेन । बरु पचभैया आएका पर्यटक रुपा जानसक्ने भए । पारी जामुनकुना पुगेका पर्यटक वारी माझीकुना, बेगनास, पचभैया आउनसक्ने भए ।’
बेगनास धार्मिक पर्यटन समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी, स्थानिय समाजसेवी वासुदेव लामिछाने, अर्का समाजसेवी दीनानाथ ढकाललगायतले पुलले पर्यटनमा सघाउने र यहि कारण स्थानियको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पुल निर्माण भएपनि त्यहाँ पुग्न कच्ची बाटो हिंड्नुपर्ने बाध्यता छ । तर बाटोपनि चाँडै बन्ने प्रदेश सांसद दीपक कोईरालाले बताए । बाटोका लागि प्रदेश सरकारले ७५ लाख विनियोजन गरिसकेको छ भने पुल निर्माणबाट बचत भएको १५ लाखपनि बाटो निर्माणमै खर्चिनका लागि राखिएको छ । ‘बाटो बनाउन बजेटकोअभाव छैन । यहि आर्थिक वर्षमा बाटो बन्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







