जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व संकलन


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७९ मा प्रकाशित




जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार ५ सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो ।

ट्रक, टिपर, बस, कार, जीप, ट्रयाक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व संकलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिए ।

प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो । कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए ।
आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ५२ लाख तथा आव २०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ६७ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो ।

‘कारबाहीको संख्या र राजस्वमा वृद्धि भएको छ’, उनले भने ।

जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।