पोखरा । सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै प्रदेशमा प्रतिदिन ६५ हजार लिटर दूध उत्पादन हुने गरेको छ ।
माग अनुसार दूध आत्मनिर्भरताको अवस्थामा पुगेको नेपाल डेरी एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष शिवहरि आचार्यले जानकारी दिए । आचार्यका अनुसार गण्डकी प्रदेशमा स्थानीय उत्पादनका अतिरिक्त चितवन, नवलपरासी, कपिलवस्तु र रुपन्देहीबाट दूध आउने गरेको छ ।
गण्डकीको नवलपुरबाट अन्य प्रदेशमा दूध निर्यात हुने गरेको छ । प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्ला सदरमुकाममा दूधको खपत बढी हुन्छ । आचार्यले गण्डकीभित्र ठूला चार, मझौला आठ, साना २० र घरेलु १०० डेरी रहेको जानकारी दिए।
दूधको सेवन गर्ने क्रम पछिल्ला वर्षमा बढ्दै गएकाले दिनानुदिन माग बढ्दो क्रममा रहेको व्यवसायी बताउँछन् । कोरोना कहरयता बढ्दो महँगी भने गम्भीर समस्याका रुपमा देखापरेको पोखरा महानगरपालिका–३३ भरतपोखरी बाघमाराका अगुवा किसान ठाकुर आचार्यले बताए ।
विसं २०६६ पछि व्यावसायिक गाईपालनमा लाग्नुभएका आचार्यले अहिले दैनिक ५० लिटर दूध उत्पादन गर्दै आएका छन् । उत्पादित दूधको बजारमा समस्या नभए पनि बढ्दो महँगीका कारण उत्पादनको लागत बढ्न गएको उहाँको भनाइ छ । आचार्यका अनुसार कोरोना कहर अघिसम्म रु आठ÷नौ सयमा पाइने चोक्कर अहिले रु दुई हजार २०० पर्ने गरेको छ ।
त्यस्तै रु ४० हजारमा एक ट्रिप पराल आउने गरेकामा अहिले भने रु ९० हजारदेखि रु ९५ हजारसम्म पर्ने गरेको उहाँले दुःखेसो पोखे । व्यावसायिकताको विकाससँगै कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको बाघमारा लगायतका स्थानले पछिल्ला समयमा राम्रो पहिचान बनाएका छन् ।
पछिल्ला वर्षमा व्यावसायिक रुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको सहरका रुपमा घोषित बनेको छ । दुई दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यवसायिकतामा विकास भएको हो ।
विसं २०५७ पछि यस क्षेत्रमा गाईपालनप्रति आकर्षण बढ्दै गएको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका पूर्व अध्यक्ष विश्वेश्वर हरामीले बताए । सुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेको यस ठाउँमा २०६१ साल भदौदेखि नीजिस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध सङ्कलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण थप बढेको उनले बताए ।
सुरुमा २०५०÷५१ सालतिर तालचोकसम्म दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध सङ्कलन केन्द्रका रुपमा विकास भएको थियो । पछिल्ला वर्षमा चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ । बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको उनले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







