गण्डकीका यातायात व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित, साउन २२ गतेदेखि घर र ग्यारेजमा थन्काउने


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




पोखरा, साउन १८

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले सवारी कर वृद्धिको विरोधमा गाडी सञ्चालन नगर्ने घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रदेश सरकारले अन्यायपूर्ण कर वृद्धि गरेको विरोधमा यहि साउन २२ गते आईतबारदेखि सवारी साधन सञ्चालन नगर्ने घोषणा गरेको हो । उसले सो दिनदेखि आफू मातहत रहेका सम्पूर्ण गाडीहरु घर÷ग्यारेजमा थन्काउने बताएको छ ।

यसअघी यातायात व्यवसायीलाई सरकारले साठी प्रतिशत कर छुट दिदै आएको थियो । सो करछुट बापत व्यवसायीले विद्यार्थी, वृद्धवृद्धा, जनआन्दोलनका घाईते, अपाङ्गता भएकालगायतलाई छुट दिदै आएको थियो । तर प्रदेश सरकारले यस वर्षदेखि यसअघि दिदै आएको साठी प्रतिशत कर छुटलाई घटाएर ३३ प्रतिशतमा झारेपछि यातायात व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलका अनुसार यस वर्ष कर छुटको प्रतिशत घट्दा प्रति गाडी ७ हजार कर बृद्धि भएको छ । जुन अव्यवहारिक र अन्यायपूर्ण भएको उनले बताए ।

व्यवसायीले कर छुट कटौति गर्ने हो भने आफूहरुलेपनि विद्यार्थी, वृद्धवृद्धा, जनआन्दोलनका घाईते, अपाङ्गता भएकाहरुलाई दिदै आएको छुटपनि कटौति गर्न पाउनुपर्ने माग गरेका छन् । हामीले विद्यार्थीलगायतलाई दिइएको छुट कटौति गर्न पाउनुप¥यो भनेका छौं,उनले भने‘तर मन्त्रालय वार्ता गर्न नै चाहँदैन । त्यसैले अन्य सबै विकल्प नभटेपछि बाध्य भएर गाडी थन्काउने निर्णय गरेका हौं ।’ उनले प्रदेश सरकारले आफूखुशी निर्णय गरेर समस्या ल्याएको तर समाधानका लागि जिम्मेवारपूर्वक प्रस्तुत नभएको आरोप लगाए । ‘हामी वार्ताबाटै समस्याको समाधान गर्न चाहन्छौं तर सरकार गम्भीर र जिम्मेवार बनेन’–उनले थपे ।

महासंघले पहिलो चरणमा घर÷ग्यारेजमा गाडी थन्काउने र त्यति गर्दापनि बेवास्ता गरेर समस्याको समाधान नखोजे प्रदेश बन्द गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘आन्दोलनको भावना विपरित माग सम्बोधन नभएको खण्डमा अनिश्चितकालीन प्रदेश बन्द गर्न बाध्य हुने कुरासमेत यो अपिलमार्फत जानकारी गराउन चाहन्छौं ।’

महासंघले नीजि, पर्यटनलगायतका सवारी साधन सञ्चालन गर्ने आम नागरिकलाईपनि आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरेको छ । सरकारले कुनैपनि बेला कुनैपनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएकाले त्यसकाबिरुद्ध थालिएको आन्दोलनमा सहभागिता जनाउन भन्दै महासंघले अपिल गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।