पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ र नेपाल सहरी उत्थानशील परियोजनाबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सार्वजनिक निजी संवादसमेतका माध्यमबाट ‘उद्यमशीलता विकास तथा नवउद्यम प्रवद्र्धनका लागि व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना र संचालनसम्बन्धी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
६ बुँदे समझदारी पत्रमा पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापति र नेपाल सहरी उत्थानशील परियोजनाको तर्फबाट सविता थापाले हस्ताक्षर गरेकी हुन्।
समझदारी अनुसार पोखरा महानगरपालिकामा उद्यम गर्न चाहने व्यक्ति वा समूहलाई उद्यमशीलताको अनुसन्धान र विकास प्रविधि हस्तान्तरण तथा बजार, सह–कार्यस्थल, उद्भवन, प्रशिक्षण, वित्तीय तथा कानुनी परामर्श प्रदान गरिनेछ।
साथै, ‘व्यवसाय प्रवद्र्धन केन्द्र संचालन कार्यविधि–२०७९’ बमोजिम स्थापना हुने व्यवसाय प्रवद्र्धन केन्द्र अन्तरगत गठन हुने सार्वजनिक निजी संवाद मञ्च समेतका माध्यमबाट निजी तथा सार्वजनिक क्षेत्रबीच नियमित, नतिजामुखी र पारदर्शी रूपमा संवाद, छलफल तथा अन्तरक्रियाको अभ्यासलाई संस्थागत गरिने जनाइएको छ।
समझदारी पत्रमा पोखरा महानगरपालिकामा विद्यमान व्यवसाय संचालन गर्ने वातावरणमा सुधार र बजार प्रणालीको सुदृढीकरणमार्फत उद्यमशीलता विकासलाई प्रोत्साहन, सहजीकरण तथा सहयोग गर्ने, महानगरपालिकाले थालनी गरेको मेयर नवउद्यम (स्टार्टअप) विकास कार्यक्रम तथा उपमेयरसँग महिला कार्यक्रमलाई थप व्यवस्थित, वैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक नीति, रणनीति तथा कार्य योजना तयार गरी कार्यान्वयनमा सहयोग गर्ने, पोखरा महानगरपालिकाले स्थापना गर्ने व्यवसाय प्रवद्र्धन केन्द्र एवं सो अन्तरगतको सार्वजनिक निजी संवाद मञ्चलाई संस्थागत गर्न र संस्थागत क्षमता अभिवृद्धि गर्न आर्थिक, भौतिक, प्राविधिक तथा बौद्धिक सहयोग प्रदान गर्ने लगायत उल्लेख छ। यसका अलवा त्रिपक्षीय जिम्मेवारी समेत समझदारी पत्रमा तोकिएको छ।
रोजगारीको अभाव र उद्यमशीलताको क्षेत्रभन्दा बाहिर रहेका व्यक्तिहरूलाई व्यवसाय सुरु गर्न यस कार्यक्रमले सहयोग गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए। व्यवसाय संचालन गरी उद्यमशील बन्न चाहने जो कोहीलाई व्यवसाय प्रवद्र्धन केन्द्रको पूर्ण सहयोग रहने विश्वास समेत उनले दिलाए। यसका लागि आवश्यक पुँजीको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने प्रमुख आचार्यले बताए। उनका अनुसार रोजगारी सृजना तथा उद्यमशीलता विकासका लागि केन्द्रमार्फत संचालन गर्ने गरी ३० करोड बराबरको पुँजीको व्यवस्थापन महानगरपालिकाले गर्नेछ।
यस क्षेत्रका विज्ञहरूले अनुसन्धान र विकास प्रविधिलाई जोड्ने एक महत्वपूर्ण कडीका रूपमा यसको व्याख्या गरेका छन्। उनीहरूले महानगरको यस प्रकारको प्रयासलाई उद्यमशीलता र रोजगारी सृजनाको अपरिहार्य तर, नवीन अभ्यास समेत भनेका छन्। यस कार्यक्रम मार्फत बेरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्न सकिनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







