खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक : मन्त्री बराल


     एभरेस्ट आवाज    
     श्रावण २२ गते २०७९ मा प्रकाशित




पोखरा २२, साउन

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा बोल्दै मन्त्री बरालले गण्डकी प्रदेशमा ४ अर्ब बराबरको खाद्य सामग्री आयात हुने गरेको भन्दै त्यसलाई रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका हुन् ।

पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालले बताए । उपभोग्ताबादी सोंचलाई अब युवा वर्ग तथा क्रान्तिकारीहरुले मात्र परिवर्तन गर्न सक्ने मन्त्री बरालले बताए । कृषि प्रधान हाम्रो देशमा यहीं उपादन हुने खाद्य पदार्थ नै ठुलो मात्रामा बिदेशबाट आयात गर्नु नेपालीहरुको लागि ठुलो विडम्बना भएको मन्त्री बरालले टिप्पणी गरे । आत्मनिर्भर अर्थतन्त्रले समाजबाद अर्थतन्त्रको आधारशिला खडा गर्ने उनको भनाई छ ।

यस चालु आर्थिक बर्षका लागि बजेट निर्माण गर्दा संघ, प्रदेशले समेत कृषिलाई पहिलो प्रथामिकता दिएको मन्त्री बरालले उल्लेख गरे । केही नया कुरा गर्न खोज्दा आक्रमण हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले क्रान्तिकारीले त्यसको डटेर प्रतिवाद गर्ने जनाए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक श्रोत व्यबस्थापन कलेज, पुरुञ्चौरका अध्यक्ष संसार टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष द्धय केशवरावल र मदन भट्टराई, कृषि क्याम्पस पुरुञ्चौरका प्रमुख चन्द्रेश्वर प्रसाद श्रीवास्तव, समितिका सदस्य संजितकुमार यादव, बिद्यार्थी महेश आचार्य, ममता पौडेल लगायतले वोलेका थिए । सार्थ कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेका थिए । यस बर्ष कृषि बिषयमा उक्त क्याम्पसबाट ५० जनाले स्नातक तह उत्तिर्ण गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।