आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०७९ मा प्रकाशित




पोखरा । मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडितलाई आर्थिक सहयोग गरेको छ । माछापुछ्रे गाउँपालिका ८ लुम्रेका लागलागी पीडित गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार ५ सय ६ रुपैयाँ सहयोग गरेका हुन् ।

मर्दीखोला सेवा समिति कास्की हङकङ समाज महिला समितिका सचिव बद्रीलक्ष्मी गुरुङ, अजिवन सदस्य दिलबहादुर गुरुङ र निशा पौडेलले उक्त रकम पिडित परिवारका सदस्य लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् ।

गत जेठ ५ गते कास्कीको माछापुछ्रे गाँउपालिका ८ लुम्रे निवासी गोलमान गुरुङको घरमा ग्याँसको सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको थियो । आगलागीबाट करिब २५÷३० लाख बराबरको क्षती भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘ग्यास लीग भएर सबै आगलागी भएपछि निभाउने धेरै प्रयास भयो तर सकिएन्,’ उनले भने, ‘लुगाफाटा, गरगहना सबै गर्दा करिब २५÷३० लाख जतिको क्षती भयो होला ।’

विदेशी भूमिमा रहे पनि मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै नेपालीहरुलाई सहयोग जुटाउँदै आएको समजका महिला संघ सचिव बद्रीलक्ष्मी गुरुङले जनाइन् । आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने उनको प्रतिवद्धता थियो । सहयोग हस्तान्तरण कार्यक्रममा निशा पौडेलले मानवीय सेवा नै धर्म भएकाले आफूहरुले समस्यामा रहेकाहरुको वास्तविक समस्या बुझेर सक्दो सहयोगमा जुट्ने बताईन् ।

हङकङमा रहेका मर्दीखोला सेवा समिति कास्की हङकङ समाजका पदाधिकारी, साधारण सदस्य तथा शुभचिन्तक र विदामा नेपाल आएकाहरुबाट उक्त रकम संकलन गरिएको गुरुङले जानकारी दिइन् । नेपालीको हरेक दुखमा साथ दिन आफूहरु तयार रहेको उनको भनाई थियो ।

वडाअध्यक्ष गुरुङले विदेशी भूमिमा रहेर पनि जन्मभूमिमा भएको समस्या र दुःख पीडालाई आत्मसात गरी सहयोग रकम जुटाएकोमा धन्यवाद व्यक्त गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा माछापुछ्रे ८ का वडा सदस्य रामहरी गुरुङले कठिन अवस्थामा एक अर्काको सहयोगमा जुटेर अघि बढ्नु नै मानवीयता भएको धारणा राखे ।

सहयोग रकम बुझेपछि सहयोगी दाताहरुलाई धन्यवाद् दिंदै पीडित लक्ष्मी गुरुङ घर सहयोगको रकमले घर बनाउने बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।