आलुखेतीमा आत्मनिर्भर उन्मुख व्यास


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




तनहुँको व्यास नगरपालिका आलुखेतीमा आत्मनिर्भर उन्मुख हुँदै गएको छ ।

नगरपालिकाका १४ वडामध्ये अधिकांश क्षेत्रमा आलुखेती राम्रो हुने गरेकाले आत्मनिर्भर उन्मुख देखिएको हो ।

आलुखेतीका लागि व्यासका पाँचदेखि १२ नम्बर वडामा धेरै परिमाणमा आलु उत्पादन हुने गरेको नगरपालिका कृषि शाखाका प्रमुख अधिकृत विश्वराज वाग्लेले जानकारी दिए । गतवर्ष ३६ मेट्रिक टन आलुको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको भन्दै उनले झन्डै २ सय ५२ मेट्रिक टन आलु उत्पादन भएको जानकारी दिए ।

नगरपालिकाले गतवर्ष प्रतिकिलो रू. ७५ को आलुका बीउ साढे ३७ रुपैयाँका दरले १२ लाख रुपैयाँको वितरण गरेको थियो । आलु उत्पादनका लागि कार्यालयले प्रोत्साहनमूलक कार्यक्रम ल्याएपछि किसान उत्साहित भएर लागेको शाखा प्रमुख वाग्लेको भनाई छ ।

भदौमा आलुखेती गर्ने हो भने वर्षमा दुई मौसम आलुखेती गर्न सकिने हुँदा व्यासक्षेत्र आत्मनिर्भर बनी अन्यत्र समेत निर्यात गर्न सकिने उनले बताए ।

किसानले प्रतिबोरा रू. तीन सय ५० देखि पाँच सयसम्म तिरेर पोखरा वा चितवनका चिस्यान केन्द्रमा आलुको बीउ लगेर राख्नुपर्ने बाध्यता रहेको छ । उक्त बाध्यकताको अन्त्य गर्न नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरिरहेको छ । चिस्यान केन्द्र यसै वर्षदेखि प्रयोगमा ल्याउने गरी निर्माण भइरहेको वाग्लेले बताए । ‘चिस्यान केन्द्र बनेपछि किसानले महँगो शुल्क तिरेर ढुवानी र भण्डार गर्नुपर्ने समस्या अन्त्य हुनेछ,’ उनले भने ।

नगरपालिकाले व्यास क्षेत्रका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु भण्डारण गर्दा सुलभ र सस्तो दरमा राख्ने योजना नगरपालिकाले बनाएको छ । नगरपालिकाले आव २०७९÷८० मा सञ्चालन गर्नुपर्ने क्रमागत योजनाअनुरूप नगरपालिका–११ स्थित रानीगाउँ नजिक चिस्यान केन्द्र निर्माण गरिरहेको छ । चिस्यान केन्द्रका लागि रू. सात लाख ३३ हजार सात सय २८ बजेट विनियोजन भएको छ । चिस्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।