कुनै समय ग्राहकको चापले खाना खान समय नपाउने बेनी नगरपलिका–७, शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् ।
२०५० सालमा पर्वतको धाइरिङबाट बसाइ आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् ।
‘बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर थिए । अहिले घरैघरले भरिएको ठाउँ ऊ बेला बारी, झाडी र चरन क्षेत्र थियो,’ उनले विगत सम्झिए, ‘बिहानैदेखि पसलमा ग्राहकको लस्कर लाग्थ्यो । उनीहरूलाई सामान दिँदादिँदै बिहानको खाना खाने फुर्सदै पाइँदैनथ्यो । अहिले बजार बढ्यो तर व्यापार खस्कियो ।’
पन्ध्र वर्षअघिसम्म म्याग्दी, मुस्ताङ र पर्वतको उत्तरी मल्लाज क्षेत्रको व्यापारिक केन्द्र थियो बेनी बजार । मुस्ताङ जाने–आउने तीर्थयात्री र पर्यटकमात्र नभएर सरकारी सेवादेखि रेमिट्यान्सका लागि आएका गाउँका मानिसले बेनी बजारका भट्टीदेखि होटलसम्म भरिभराउ हुन्थे । अन्य जिल्लामा जाने आउनेको ‘ट्रान्जिट’ बेनी थियो । खुद्रादेखि थोक व्यापारीलाई भ्याइनभ्याई हुन्थ्यो ।
अचेल थोक विक्रेता (डिलर) बाहेकका साना व्यापारी बेनीमा प्रतिस्पर्धा गर्न र टिक्न गाह्रो भएको गुनासो गर्छन् । बेनीका पुराना व्यापारी धर्मनारायण श्रेष्ठले यातायात सुविधाको विस्तारसँगै व्यापारको शैली फेरिएको बताए ।
‘नौडाँडा, बुटवलबाट भरिया, घोडा र खच्चरमा सामान बोकाएर ल्याइन्थ्यो । ग्राहक सामान खोज्दै बजारका पसलमा आउँथे,’ उनले भने, ‘अहिले उत्पादकबाट सीधै डिलरकहाँ सामान आउँछ । डिलरले गाडीमा ग्राहकको घरदैलोमै पु¥याउँछन् । किनमेलका लागि बजार आउनेको चहलपहल घटेको छ ।’
करीब दुई किलोमीटर दूरीमा म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजार बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ । यहाँ १ हजारभन्दा बढी घर छन् । मंगलाघाट पश्चिमी क्षेत्र, हुलाकचोक र न्यूरोड बजार आसपास तथा कालीपुल उत्तरीक्षेत्र र मुस्ताङको व्यापारिक केन्द्र थियो ।
२०६४ सालमा कालीगण्डकीमा मोटरेबल पुल नबन्दासम्म अधिकांश डिलरका गोदाम पर्वतको जलजला गाउँपालिकाको वडा नम्बर ३ वारि बेनीमा थिए । वारि बेनीमा अहिले थोरै मात्र डिलरका गोदाम छन् । खच्चर र किनमेलका लागि आउने मानिसको भीड हुने वारि बेनी अहिले सुनसान भएको व्यापारी डिलबहादुर बरुवाल बताउँछन् ।
कास्की, पर्वत, बागलुङबाट व्यापारका लागि म्याग्दीमा आएका धरैले बेनी छोडिसकेका छन् । त्यसबेलाका ठूला व्यवसायी पोखरा, चितवन, काठमाडौं सरेका हुन् ।
मंगलाघाटका घरका सटर खाली हुन थालेको धेरै भयो । डेरामा बस्ने क्याम्पस पढ्ने विद्यार्थी र कर्मचारी धेरै छन् । कालीपुल र वारि बेनीको व्यापारिक अवस्था पनि मंगलाघाटको भन्दा फरक छैन । घरले भरिएर बजारभित्र करीब खाली ठाउँ भेटिँदैनन् । क्याम्पसचोक, अस्पताल चोक र महारानीथान, कुरिलाखर्कको पाखोमा बजार विस्तार भएको छ ।
शान्ति प्रक्रियापछि सडक र यातायात विस्तारले तीव्रता पायो । म्याग्दीका ४५ मध्ये धवलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाबाहेकका वडा र बस्तीमा सडक यातायात पुगेको छ । यातायातका साधनमार्फत ग्राहक र गाउँका व्यापारीको घरदैलोमा सामान पुग्न थालेको खाद्यान्न व्यापारीसमेत रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
अर्कोतर्फ २०६८ सालसम्म मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा देशका विभिन्न ठाउँबाट सीधा यातायात सम्पर्क थिएन । मुस्ताङ जाने र आउने यात्रु, तीर्थयात्री र पर्यटक बेनी झर्ने गर्थे । सडक विस्तार र स्तरोन्नतिसँगै मुस्ताङ मात्र नभएर म्याग्दीका गाउँ गाउँबाट सीधै पोखरा–काठमाडौंका लागि गाडी छुट्न थालेका छन् । संघीयताको कार्यान्वयनपछि सरकारी, बैंक र वित्तीय संस्थाको सेवा विकेन्द्रीत भयो ।
सदरमुकामका कार्यालयमा सेवा लिन आउने ग्रामीण क्षेत्रका सर्वसाधारण बिहान आएर काम सकेर साँझै घरमै पुग्ने गरेका छन् । निजी विद्यालय, क्याम्पस र ११–१२ पढ्ने विद्यार्थीको चाप भने बेनीमा घटेको छैन । दरबन्दी र पूर्वाधार अभावमा ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पतालले प्रभावकारी सेवा दिन नसक्दा उपचारका लागि पोखरा, काठमाडौं जाने बेनीमा अडिन सकेका छैनन् ।
मानिसको चहलपहल घट्नु, प्रतिस्पर्धा बढ्नु र कोरोना महामारीका कारण यसअघिका २ वर्षमा भएको बन्दाबन्दी, निषेधाज्ञाले साना पूँजीका खुद्रा व्यापारीलाई समस्या परेको उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले बताए । खुद्रा पसल, फेन्सी, भाडा, तरकारी तथा फलफूल पसल सञ्चालक छिटोछिटो परिवर्तनका साथै बजारका सटर खाली हुन थालेका छन् ।
बेनीको आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारको विकल्प खोजी गर्नुपर्ने व्यवसायी जीवनबहादुर विश्वकर्माको भनाइ छ ।
‘बेनीमा विगतको जस्तो व्यापार छैन,’ उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान बनाउने योजना बनाएर कार्यान्वयन गर्न नसके बेनीका ब्यापारी पलायन हुनेछन् ।’
तातोपानी कुण्ड, गलेश्वर, लभ्लीहिल, पछै, जगन्नाथ, टोड्के, रूप्से, मल्लाजमा पर्यटकीय पूर्वाधार बनाएर पर्यटक भित्राउन र बसाइ लम्ब्याउन सकेमा मात्र बेनीको व्यापारलाई पुरानै लयमा फर्काउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रमोद श्रेष्ठले बताए ।
‘तत्काललाई प्राकृतिक उपचार स्थलका रूपमा परिचित तातोपानी, पश्चिमको पशुपतिनाथ भनेर चिनिने गलेश्वर, ऐतिहासिक बेनी कोत, महारानी थान, बरको रूखमुनि रहेको अनौठो बेनी शिवालय मन्दिरको प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने, ‘बेनीलाई केन्द्र बनाएर साहासिक पर्यटकीय पूर्वाधारको अध्ययन भइरहेको छ ।’
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







