राइट फर चिल्ड्रेनको युवा महिला रोजगार परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित




पोखरा । प्लान इन्टरनेशनल नेपाल र राईट फर चिल्ड्रेनको सहकार्यमा संचालित पोखरामा युवा महिला रोजगार प्रवर्द्दन परियोजनाको आयोजनामा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा २६ जना सरोकारवालाहरुको सहभागिता रहेको थियो । राईट फर चिल्ड्रेनका कार्यकारी निर्देशक अनिल पौडेलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।
पोखरामा युवा महिला रोजगार प्रवर्दन परियोजना अन्तरगत संस्थाले आर्थिक/सामाजिक रुपमा पिछडिएको ,दलित, जनजाती समुहका महिला, एकल महिला, घरेलु हिंसामा परेका, सुधार गृहबाट फर्केका, भूमिहीन वा द्वन्द्ध पीडित किशोरी/महिला , विगतमा यस्ता खालको तालिमका अवसर नपाएका १८ देखि २४ वर्ष उमेर समुहका युवा महिलाहरुका लागि विभिन्न तालिम सञ्चाालन गर्दै आएको छ । तालिमका साथै अंग्रेजी भाषा, जिवन उपयोगी सिप र कम्प्युटर तालिम पनि प्रदान गर्दै आएको छ । तालिम पश्चात रोजगारीको लागि पनि संस्थाले सहयोग गरिरहेको छ । यसका साथै आवश्यकता अनुसार यातायात, दिवा खाजा र बाल हेरचारहको व्यवस्था पनि संस्थाले गरिरहेको छ । तालिम CTEVT को पाठ्यक्रम अनुसारको रहेको प्रमुख कार्यकारी पौडेलले बताए । राईट फर चिल्ड्रेन संस्थाले विभिन्न तालिम प्रदायक संघ संस्थाको सहकार्यमा तालिम संचालन गरिरहेको बताउदै परियोजनाकी संयोजक पशुपति कुमारी चौधरीले परियोजनाले गर्दै आएका कार्यहरु ,परियोजनाका उद्देश्य, परियोजनाको उपलब्धि र सिकाईहरुको बारेमा प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष राममोहन आचार्यले परियोजनाको सफलताको शुभकामना ब्यक्त गर्दै युवा महिलाको सिप बिकास र रोजगारीको क्षेत्रमा वडा सहकार्य गर्न तयार रहेको बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख निर्मला शर्माले आजभोली सीप विकास तालिम प्रदायक संद्य संस्थाहरु धेरै छन् ,तालिम लिने लाभार्थीहरु पनि धेरै छन् तर आत्मविश्वासका साथ व्यवसाय गर्न तयार भएका लाभार्थीहरु कमै भेटिएका छन् । तालिमको गुणस्तर कसरी राम्रो बढाउने कुरामा ध्यान दिनुका साथै रोजगारदाताहरुलाई संस्थाका लाभार्थीहरुलाई थप रोजगारको अवसर प्रदान गरिदिन अनुरोध पनि गरेकी थिइन् ।
CTEVT गण्डकी प्रदेशका उप निर्देशक जीवनप्रसाद भण्डारीले प्लान इन्टरनेशनल नेपाल र राईट फर चिल्ड्रेनले CTEVT सँग सहकार्य गरेर कार्य गरेकोमा खुसी व्यक्त गर्दै, सीप परिक्षणका लागि पाठ्यक्रम परिमार्जन गर्न केहि असहज भएता पनि तालिम प्रदायक संस्थाहरुले बजारको माग अनुसार पाठ्यक्रमलाई केहि परिमार्जन गर्दै तालिम दिन मिल्ने बताए ।
आफ्नो अनुभब शेयर गर्दै तालिम आफूले सोचेको भन्दा पनि राम्रो र गुणस्तर रहेको तालिमकी लाभार्थी पुजा बि.क.ले बताइन् । नारी सेवा केन्द्रका अध्यक्ष उषा बरुवालले महिली दिदी बहिनीलाई हस्तकला सम्बन्धि तालिम दिएर स्वरोजगार तर्फ आकर्षण गर्न सकिने सुझाए भने गेट ट्रेनिड.सेन्टरका बिबेक पौडेलले CTEVT को पाठ्यक्रम परिमार्जन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा भर्टेक्स कन्सल्ट काठमाण्डौका जगदिश्वर श्रेष्ठले परियोजनाको मूल्यांकन प्रतिवेदन प्रस्तुत गरेका थिए । दातृ संस्था प्लान इन्टरनेसनलका मदनराज जोशीले दिइएका सुझाब ग्रहण गर्दै परिमार्जित रुपमा अघि बढ्ने बाचा गरे ।
कार्यक्रमको सहजिकरण संचारकर्मी दीपेन्द्र श्रेष्ठले गरेका थिए ।
कार्यक्रमका अध्यक्ष तथा राइट फर चिल्ड्रेनका अध्यक्ष दीपेन्द्र राइले सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै आएका सुझाबलाई मनन् गरी आगामी दिनमा अझै सहकार्य गर्दै काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।