आत्मनिर्भर अर्थतन्त्रको लागि उत्पादन हुनु पर्छः मन्त्री बराल

- हरिवंश सहकारीको साधारण सभामा दुई वडा अध्यक्ष सम्मानित


     एभरेस्ट आवाज    
     भाद्र १८ गते २०७९ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आत्मनिर्भर अर्थतन्त्रको लागि बस्तु उत्पादन गर्नुपर्ने बताएका छन् । पोखरा १८ सराङकोटमा रहेको हरिवंश बचत तथा ऋण सहकारी संस्थाको शनिबार पोखरामा सम्पन्न भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताएका हुन् ।

रेमिट्यान्सबाट भित्रिएको पूंजिलाई नेपालमा उचित ढंगले सदुपयोग गर्न सहकारीहरुले कम्तिमा पनि ३० प्रतिशत कृषि र उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने मन्त्री बरालको भनाई थियो । कृषि प्रधान देश नेपालमा बस्तु आयातलाई रोक्न पनि कृषिलाई पहिलो प्रथामिकता दिदै बस्तु उत्पादनमा सवैको जोड हुनुपर्ने उनको भनाई थियो । हरेक सहकारीहरुले कम्तिमा पनि एक उत्पादन हुने गरी उत्पादन गर्न सुझाव दिदै मन्त्री बरालले हरिवंश सहकारीलाई कम्तिमा पनि एउटा कुटिर उद्योग संचालन गर्न आग्रह गरे । मुलुक बनाउन अब नयाँ संकल्प गर्नुपर्ने मन्त्री बरालले बताए ।

कार्यक्रममा सहकारीका शेयर सदस्यहरु मध्य पोखरा महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दीवसमान प्रधानाङग, पोखरा १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनालाई समेत सम्मान गरिएको थियो । वडा अध्यक्षहरुलाई मन्त्री बरालले सम्मान गरेका हुन् । त्यसै गरी सम्मानित हुनेहरुमा ज्येष्ठ सदस्यबाट चुडामणी तिमिल्सिना, असल बचतकर्ता इन्दु शर्मा रेग्मी र असलऋणी सरस्वती शर्मा अधिकारी रहेको सचिब पुर्णाखर तिमिल्सिनाले बताए ।

संस्थाका अध्यक्ष तारा तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संरक्षक रुद्र प्रसाद तिमिल्सिना, महिला साना किसानका प्रबन्धक इन्द्रा थापा पोखरा वेशी सहकारीका अध्यक्ष नारायण पहारी, नेपाली कागेंस नेता नारायण खड्का, एमाले नेता अरुण थापा लगायतले बोलेका थिए । ३ सय ६७ जना शेयर सदस्य रहेको उक्त सहकारीमा २ करोड ११ लाख ८३ हजार शेयर पूंजि रहेको व्यबस्थापक गणेश तिमिल्सिनाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।