भेट्टाएको सुनको सिक्री प्रहरी मार्फत मालिकलाई फिर्ता


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




म्याग्दी । म्याग्दीकी एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना देखाएका छन्।

रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेट्टाएका थिए । उनले भेट्टाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाएका हुन् ।

पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाणसहित हराएको सुनको सिक्री दाबी गरेर दिउँसो प्रहरी कार्यालयमा आएका थिए । सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी एकाइका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर सम्मान गर्न थालेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउन र हौसला प्रदान मासिकरूपमा सम्मान गर्न सुरु गरिएको हो ।

बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई विसं २०७९ को साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी सम्मान प्रदान गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

नाबालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल परिचालन भई घटनास्थलमा नै पीडितलाई उद्धार र पीडकलाई नियन्त्रणमा लिन सफल भई अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको र ज्यानसम्बन्धी कसुरका अभियुक्तलाई पक्राउ गरेको हुँदा पौडेललाई ‘वेष्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।