कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित





सुर्खेत । सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । आचार्यसँग लगानी गर्ने रकम भने थिएन । उनले कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा कर्जा कार्यक्रम ल्याएको थाहा पाए । उनले १० लाख रुपैयाँ ऋण लिएर भैँसीपालन व्यवसाय सुरु गरे ।

कुनैबेला स्वदेशमा केही हुँदैन भनेर विदेश जाने सोच बनाएका आचार्यले अहिले १० वटा गाई भैँसीपालन गरेका छन । उनले दैनिक ५० लिटर दूध बेच्छन , सबै खर्च कटाएर मासिक ३५ हजार आम्दानी हुने गरेको आचार्य बताउछन । व्यावसायिकरुपमा चार वटा भैँसीपालन गरेका उनले सबै खर्च कटाएर मासिक रु २४ हजार बचत गर्छन ।

पहिले पनि उनले कृषि तथा पशुपालन गर्ने भए पनि त्यो निर्वाहमुखी मात्रै थियो । सरकारले सस्तो व्याजमा ऋण दिने व्यवस्था मिलाइदिएपछि अहिले आफूहरु घरै बसेर राम्रो आम्दानी गर्न थालेको उनले बताए । उनीहरु जस्तै कर्णाली प्रदेश सरकारको व्याज अनुदानमा कार्यक्रमअन्तर्गत अहिलेसम्म एक हजार २२७ जना कृषकले सहुलियतपूर्ण कर्जा लिएर व्यवसाय गरिरहेका छन् ।

बैंक तथा विभिन्न सहकारी संस्थामार्फत रु ७१ करोड रकम परिचालन भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार उक्त रकमको प्रदेश सरकारले रु चार करोड ३० लाख ३५ हजार व्याज तिरिदएको छ ।

अधिकारीका अनुसार अहिलेसम्म यो कार्यक्रममार्फत ७१ करोड रकम परिचालन भएको छ । किसान पनि व्याज अनुदान पाएपछि स्वदेशमै केही गर्छु भनेर आकर्षित भएका छन् । कृषि क्षेत्रमा लगानी गर्न चाहने कर्णालीका हरेक उद्यमी कृषकले विभिन्न बैंक र सहकारीबाट ऋण प्राप्त गर्न सक्छन ।

बैंकमार्फत ऋण लिने किसानले तीन प्रतिशत व्याज तिर्नुपर्छ भने बाँकी व्याज भने प्रदेश सरकारले तिरिदिने कार्यविधिमा उल्लेख छ । उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन बैंक र सकारले तोकिएका निर्देशित क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ ।

सरकारले कृषि, साना तथा मझौला उद्योगमा निश्चित प्रतिशत कर्जा दिने व्यवस्था गरेको पनि अधिकारीले जानकारी दिए । व्यावसायिक र उद्यमी कृषकलाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउँदा प्रदेशमा कृषि उत्पादन बढाउने, कृषि उद्यमी व्यवसायबाट पलायन हुने अवस्थाको अन्त्य हुने र युवाले कृषि पेशाप्रति रुचि बढाउने प्रदेश सरकारको लक्ष्य छ ।

व्यावसायिक कृषि क्षेत्रमा थप प्रभाकारी बनाउन प्रदेश सरकारले यो आर्थिक वर्ष २०७९÷८० मा पनि रु ११ करोड विनियोजन गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।