दार्चुलामा डेङ्गुका बिरामी बढे


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित





दार्चुला । भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् । जिल्ला अस्पतालका डा आदर्श लिम्बूका अनुसार भदौ पहिलो सातादेखि २२ गतेसम्म २८ डेङ्गुका बिरामी पुगेका छन् ।

जेठमा दुई जनामा डेङ्गु देखिएको थियो । साउनमा तीन जनामा देखिएको डेङ्गु अहिले आएर अस्पतालका शय्या भरिएका छन् । अहिले अस्पतालमा आउने अधिंकाशमा डेङ्गुको लक्षण देखिएको छ ।


एडिस एजिप्टाई जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरोमध्येमा डेङ्गुु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गटा लाग्नेलगायतका लक्षण देखिने गरेको डा लिम्बू बताउछन ।


कैदीको उपचारमा समस्या


जिल्ला कारागारका कैदीबन्दीमा डेङ्गु भेटिएको छ । ज्वरोका लक्षण देखिएका कैदीबन्दीमा डेङ्गु भेटिएको हो । अहिलेसम्म कारागारका सात जनामा डेङ्गु भेटिएको जिल्ला अस्पतालले जनाएको छ । कारागारमा डेङ्गुका बिरामी बढी देखिएपछि कैदीबन्दीको उपचारमा समस्या भएको जेलर रामराज पन्तले बताए ।

जिल्ला अस्पतालमा पनि बिरामीको भीड छ । कैदीबन्दीको कारगारभित्रै उपचारका लागि पत्रचार गरिएको उनले बताए । अहिले कारागारमा ५७ कैदी र १४ बन्दी छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।