नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज एक गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैँका लागि प्रतिकेजी रु सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी सात रुपैयाँ कमका दरले असोज एक गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताए ।
लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम रु ६२, अरुवा मोटो रु ५८, बास्मती रु ११०, सोनामन्सुली रु ६५, अरुवा मकावनपुर रु ६० मा विक्री गर्दै आएको छ । बीस केजी चामलको रु १४०, २५ केजीको रु १७५, ३० केजीको रु २१० छुटमा वितरण गरिने उनले जानकारी दिए ।
चामल कम हुँदा वितरण स्थगित
उक्त शाखाको हुम्लास्थित गोदाममा चामल कम हुँदा अहिले वितरण कार्य बन्द गरेकोे छ । दशैँ नजिक आउन लाग्दा चामल कम भएकाले वितरण बन्द गरिएको जनाइएको हो । हुम्लामा विगतका वर्षमा समेत दशैँको मुखमा चामल अभाव हुँदै आएको छ । शाखाका निमित्त प्रमुख आचार्यले अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल रहेकाले वितरण स्थगित गरिएको बताए ।
एक पटक खाद्यान्न विक्री वितरण गर्न झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको छ ।
वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दशैँको मुखमा आफूहरूले नपाउने गरेको खार्पुनाथ गाउँपालिका–४ नैन बहादुर रावलले गुनासो गरे । उक्त गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिनादेखि खार्पुनाथबासीले चामल नपाएको उनको भनाइ थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







