सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित





काठमाडौँ । सिकलसेलका बिरामीलाई लक्षित गरी बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल सामुदायिक अस्पताल निर्माण हुने भएको छ । पश्चिम तराईका थारु जातिमा देखिएको सिकलसेल रोगका बिरामीलाई सेवा दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका थारु स्वास्थ्यकर्मीको अगुवाइमा सिकलसेल अस्पतालको निर्माण कार्य सुरु भएको हो ।

सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउन लागिएको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले जानकारी दिए । उनका अनुसार सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र अन्यमा सिभिल होमलगायत पार्किङस्थल, खेल मैदान र बगैँचा निर्माण गरिने छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । छ जिल्लाका १० लाख थारु समुदायमध्ये एक लाख सिकलसेलका बिरामी रहेका छन् ।

त्यसमध्ये बाँकेमा एक हजारले उपचार गराइरहेको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष चौधरीले बताए । अहिले यस क्षेत्रमा सिकलसेलका बिरामी दैनिक बढिरहेका छन् ।

उनीहरुले उचित उपचार पाउन नसकेकाले थारु समुदायका गरिब बिरामीलाई समेत सहजरुपमा उपचार सेवा दिन अस्पताल निर्माण सुरु गरिएको उनको भनाइ छ । अस्पतालको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलन्यास गर्दै अस्पताल निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेटको व्यवस्था गर्ने बताएका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।