पोखरा–९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३सौं वार्षिक साधारणसभा एक समारोहका बीच मिति २०७९ भाद्र २५ गते शनिबारका दिन पोखरामा सुसम्पन्न भयो ।

संस्थाका अध्यक्ष ईन्जिनियर सुरेन्द्रबहादुर गोदारको् अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् पोखरा महानगरपालिका वडा नं. ९ का नवनिर्वाचित अध्यक्ष दिपेन्द्र मर्सानीले तुलसीघाटलाई स्वर्गद्वारीमा रुपान्तरण गर्नका लागि स्थानीय सहकारीहरु लगायत विभिन्न सामाजिक संघसंस्थाहरुसँग वडाले सहकार्य गर्न चाहेको र वडा नं. ९ भित्र रहेका संघसंस्थाहरुलाई उक्त अभियानमा सहयोग र हातेमालो गर्न आग्रह गरे ।
यस्तै कार्यक्रमका विशेष अतिथि एवम् गणेश भद्रकाली मन्दिर व्यवस्थापन समितिका अक्ष्यक्ष योगेन्द्रमान श्रेष्ठले सहकारी संघसंस्थाहरुको मुख्य कार्य भनेको सदस्यहरुबीच वित्तिय कारोवार गर्नु रहेकोले यसका सञ्चालकहरु ईमान्दार, कर्तव्यनिष्ट र सदैव चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिए ।
सभाद्वारा संस्थाका अध्यक्ष ईन्जिनीयर सुरेन्द्र बहादुर गोदारद्वारा प्रस्तुत बार्षिक प्रतिवेदन, कोषाध्यक्ष हिरामणी दाहालद्वारा प्रस्तुत वार्षिक लेखापरीक्षण प्रतिवेदन र लेखा समिति संयोजक राजेन्द्र प्रसाद पौडेलद्वारा प्रस्तुत लेखा समितिको बार्षिक प्रतिवेदन लगायतका प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारित गरेको छ । त्यस्तै उक्त सभाले सञ्चालक समितिबाट आ.व.२०७९÷०८० का लागि निणयार्थ प्रस्तुत संस्थाको वार्षिक बजेट तथा कार्यक्रम पनि अनुमोदन गरेको छ ।
यसैगरी कार्यक्रममा संस्थाका असल कारोवारिक सदस्यहरुमा श्री बलराम अधिकारी, श्री लक्ष्मी थापा र चिनप्रसाद घर्तीमगर तथा उत्कृष्ट बचतकर्ताहरुमा श्री टेक बहादुर तिलिजा पुन, श्री भेषराज लामिछाने र श्री प्रिया आलेलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । यस्तै संस्थाको नयाँबजार शाखामा रिसेप्सनिष्ट पदमा कार्यरत पवी श्रीष मगरलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसापत्र र रु. १० हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
साधारणसभाका अवसरमा संस्थाका ५० जना नवप्रवेशी सदस्यहरुलाई पनि स्वागत गर्नुका साथै ७० वर्ष उमेर पुगेका आफ्ना ५ जना जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने शेयरसदस्यहरुमा श्री दिल बहादुर गुरुङ्ग, श्री सानु तझ्या, श्री यशोधा पाध्या, श्री आनन्द कुमार गुरुङ्ग र श्री ईन्द्र बहादुर खड्का रहेका छन् ।
यसैगरी उक्त कार्यक्रममा संस्थाका शेयरसदस्यहरु श्री उज्जवल रञ्जित, श्री कविन्द्रमान पालिखे र श्री मुक्त बहादुर गुरुङ्गलाई पनि क्रमशः कास्की जिल्ला फूटबल संघको अध्यक्ष, पोखरा भाँडा व्यवसायी संघको अध्यक्ष र स्याङ्गजा जिल्ला विरुवा गाउँपालिका वडा नं. ४ को अध्यक्षमा निर्वाचित हुनुभएकोमा खादा ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका सञ्चालक एवम् बार्षिक साधारणसभाका कार्यक्रम संयोजक बीर बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् शिक्षा उपसमितिका संयोजक शम्भुराज बास्तोलाले कार्यक्रमको उद्देश्य र संस्थामा भए गरेका विभिन्न क्रियाकलापहरु माथि प्रकाश पारेका थिए ।
शेयरसदस्य मीनाकुमारी पुनले सहकारीको सात सिद्धान्त बाचन गरी शुरु भएको उक्त कार्यक्रममा अर्का शेयरसदस्य विशेश्वर आचार्य शुभकामना मन्तव्य राखेका थिए । यसैगरी शुभकामना राख्ने क्रममा संस्थाका सल्लाहकार आश बहादुर गुरुङ्गले संस्थाले विगतदेखि पार गर्दै आएको विभिन्न आरोह–अवरोहहरु एवम् सफलताहरु माथि चर्चा गर्दै सहकारी संस्थाले जहिले पनि सदस्य केन्द्रित कार्यक्रम ल्याउनु पर्ने र सदस्यहरुले पनि स्थानीयहरुद्वारा सञ्चालन गरिएको सहकारी संस्थामा मात्र सदस्य बनेर कारोवार गर्न सुझाव दिए ।
बि.सं. २०५९ साल बैसाख १२ गते स्थापित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा हाल चार हजार ९ सय शेयरसदस्य रहेका छन् । कुल १० करोड ८७ लाख ५६ हजार शेयरपूँजि रहेको उक्त सहकारीले आ.व. २०७८÷०७९ मा एक करोड ८७ लाख ५७ हजार खूद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष हिरामणि दहालले जनाएका छन् ।
पोखरा–९, नयाँबजार स्थित आफ्नै भवनमा प्रधानकार्यालय रहेको पोखरा बचत सहकारीले पोखरा–८, सिर्जनाचोक र पोखरा–१० अमरसिंहचोकमा रहेको दुईवटा सेवाकेन्द्रहरुबाट आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेकोे संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर गोदारले बताएका छन् ।
कास्की जिल्ला भरि कार्यक्षेत्र रहेको उक्त सहकारी संस्थामा हाल २३ जना कर्मचारीहरु कार्यरत रहेका छन्् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







