पर्वतमा दूध उत्पादन बढ्यो


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित




व्यावसायिक रूपमा गाईभैंसी पाल्ने कृषक बढेसँगै पर्वतमा दूध उत्पादनमा वृद्धि भएको छ ।

जिल्लामा पछिल्लो दशकमा व्यावसायिक पशुपालनमा लाग्ने किसान उल्लेख्य संख्यामा बढेका छन् ।

लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका युवाहरू व्यावसायिक पशुपालनमा लागेका छन् । ग्रामीण भेगसम्म सडकको सहज पहुँच, यातायातको सर्वसुलभता, उचित मूल्य, स्थानीय तहको उत्पादनमा आधारित अनुदान, घाँसपरालको उपलब्धता लगायतले किसानलाई व्यावसायिक पशुपालनमा सहज बनाएको छ । त्यही कारण व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढिरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कुश्माका अनुसार हाल दैनिक २५ सय लिटर हाराहारी दूध बाहिरका जिल्लामा निर्यात हुँदै आएको छ ।

‘बागलुङको केही हामीकहाँ पनि आउने गरेको छ,’ केन्द्र प्रमुख रामजीप्रसाद पौडेलले भने, ‘हामीकहाँ आउने र जाने हिसाब गर्दा दैनिक १५ देखि १७ सय लिटर दूध जिल्लाबाट बाहिरिन्छ ।’

उनका अनुसार पश्चिम बागलुङको केही दूध कुश्मामा विक्री हुँदै आएको छ । हाल कुश्मा बजारमा दूधको मूल्य थोकमा रू. ७० देखि ८० तथा खुद्रा रू. ९० देखि १२० मा विक्री हुँदै आएको छ । दूधालु गाईभैंसीले एकै बेतमा करीब रू. एक लाख मूल्य बराबरको दूध दिने भएपछि अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका युवाको पशुपालनमा आकर्षण छ ।

कुश्मा–९ का शिव ढकालले गाईको दूधबाटै मासिक रू. डेढ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । वैदेशिक रोजगारीमै जाने तयारी गरेका ढकालले कोरोनाका कारण भएको लकडाउनले जान नपाएपछि व्यवसाय बढाएको सुनाए ।

‘व्यवसाय पाँच वर्षअघि नै दर्ता गरेको हुँ,’ उनले भने, ‘परिवारलाई जिम्मा लगाएर यूरोपतिर जाने सोचेको थिएँ, कोरोनाले रोक्यो, त्यसपछि गाई थपेँ, अब कतै नजाने विचार गरेको छु ।’

करीब ४० रोपनीमा उन्नत घाँस लगाएका उनले १८ माऊ गाई पालेका छन् ।

विज्ञ केन्द्रका अनुसार गुणस्तरीय दूधको माग पर्वतलगायत छिमेकी जिल्लामा बढ्दो छ । पछिल्लो तथ्यांक अनुसार कुश्मासहित जिल्लाका मुख्य बजारमा दूधको माग दैनिक ४५ सयदेखि पाँच हजार लिटरसम्म छ । त्यसबाहेक पनि दैनिक १७ सय लिटर जिल्लाबाहिर विक्री हुनुले जिल्लाको अर्थतन्त्रमा पशुपालनले अधिक योगदान गरेको केन्द्र प्रमुख पौडेलको दाबी छ । पछिल्लो समय दाना, चोकर र पराललगायत पशुपालनका लागि आवश्यक सामग्रीमा ठूला व्यवसायीको एकाधिकार, दूधको मूल्यमा सिन्डिकेटलगायतले अझै अपेक्षित मूल्य पाउन नसकेको किसानको गुनासो छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।