थप एक सय ७९ मा कोरोना सङ्क्रमण पुष्टि


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित





काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय ७९ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ५९ को नमूना परीक्षण गरिएको थियो ।

दुई हजार छ सयले पिसिआर र दुई हजार तीन सय ५९ को एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा एक सय ७१ कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८४ हजार पाँच सय ८४ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७१ रहेको छ ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १५ पुगेको छ । होम आइसोलेसनमा दुई हजार एक सय ९०, संस्थागत आइसोलेसनमा ८१ र आइसियुमा १५ सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर र चितवन रहेका छन् ।

शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुला रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा आठ सय ९२, ललितपुर तीन सय ९९ र भक्तपुरमा ३२ सक्रिय सङ्क्रमित रहेका छन् । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।