जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक ३ महिनापछि बल्ल सञ्चालनमा आएको छ।
सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवत–जावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो। पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवत–जावत गर्न स्थानीयले घुमाउरो र जोखिमपूर्ण मार्गको प्रयोग गर्न बाध्य भएका थिए।
‘बेनी नगरपालिका र स्थानीयको पहलमा तीन महिनापछि मर्मत गरेर आंशिकरूपमा सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ’, स्थानीय शेरबहादुर घर्तीले भने।
गत वर्ष ढलानसहितको सडक पहिरोले बगाएपछि वैकल्पिक मार्ग हुँदै सडक सञ्जाल जोड्ने प्रयास गरिएको थियो। पहिरोले हलेगौडासहित आसपासका क्षेत्रका बस्तीसमेत जोखिममा परेको छ।
भकिम्ली हुँदै छिमेकी बागलुङको काठेखोला र ताराखोला गाउँपालिकाका बासिन्दाले समेत आवत–जावत गर्ने गरेका छन्। भकिम्ली जाने वैकल्पिक सडकअन्तर्गत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्डअन्तर्गत राखु र मरेक हुँदै आवत–जावत गर्न सकिन्छ।
भकिम्ली जोड्ने हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो मानिन्छ। नगरपालिकाले समेत उक्त सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो। करिब ७५० घरधुरीको बसोबास रहेको भकिम्लीवासीलाई सहज हुने गरी सडक मर्मतको प्रयास भए पनि उक्त स्थान सधैँ जोखिम बन्दै गएको वडाध्यक्ष पदम पुनले बताए।
‘सडक अवरुद्ध हुँदा जनतालाई सास्ती भएको थियो, अहिले सामान्य मर्मत गरेर सवारी आवत–जावत गर्न सक्ने बनाएका छौँ, सडकलाई दिगो बनाउन ठूलो बजेटको आवश्यकता देखिएको छ’, उनले भने।
गत वर्ष ढलान गरेकोसहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेपछि उक्त मार्गमा नियमितजसो अवरुद्ध हुन थालेपछि वैकल्पिक मार्गको समेत सर्भे भएको थियो। सरकारी निकायबाट विनियोजित बजेटबाहेक स्थानीयले श्रमदान गरी सडक विस्तार गरेका थिए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







