दशैँमा पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




डुंगा चलाउन शुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुंगा चढ्ने व्यक्तिबाट प्रति घण्टा २ रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ ।

पोखराको लेखनाथस्थित बेगनास तालमा दुई दशकदेखि डुंगा चलाउँदै आएका डुंगा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले सीमा नाघ्यो, बाच्न पनि कठिन भयो । बेगनासतालमा मात्र दुई सय डुङ्गा व्यवसायी आबद्ध छन् ।

तीन वर्ष अघिसम्म डुंगा चलाएर मासिक रु २०/२५ हजार आम्दानी गर्दै आएका डुंगा व्यवसायीको अहिले मासिक आम्दानी मुस्किलले रु ३ हजार मात्र हुने गर्छ ।

‘त्यसले एक व्यक्तिलाई पनि खान पुग्दैन परिवार कसरी पाल्ने, देशमा यो अवस्था कहिलेसम्म हो’, कोइरालाले भने, ‘कोरोना संक्रमण हटेसँगै यस वर्षको दशैँमा पर्यटक आउने आशा गरेका थियौँ लगातारको वर्षाले रोकिदियो ।’

दशैँमा पर्यटक आउछन् र दशैँ खर्च निकालौँला भनी आशा गरेका डुंगा व्यवसायी यसपटक निराश बने ।

‘ऋण काढेर दशैँ मनायौँ कोइरालाले’, भने, अधिकांश डुंगा व्यवसायीको अवस्था दयनीय नै रहेको बेगनास ताल डुंगा व्यवसायी समितिका कार्यवाहक अध्यक्ष रविराज कँडेल बताए । उनका अनुसार ३ वर्षअघिको तुलनामा अहिले ५ प्रतिशत मात्र पर्यटक छन् । तालमा आवद्ध व्यवसायीले तालमा डुंगा चलाउन पालो कुर्नुपर्ने उनले बताए ।

‘महिनाको २ दिन मात्र पालो आउँछ यस्तो अवस्थामा व्यवसायी धानिने अवस्था रहँदैन केही डुंगा व्यवसायी पेशा नै छाडेर विदेश गएका छन् भने केहीले व्यवसाय नै परिवर्तन गरे’, कार्यवाहक अध्यक्ष कँडेलले भने ।

फेवाताल आउने सबै पर्यटक बेगनास तालमा आउने भए पनि केही मात्रामा राहात हुन्थ्यो । पोखरा आएका पर्यटकमध्ये ३० प्रतिशत मात्र बेगनास ताल पुग्ने गर्छन् ।

‘बेगनास पुग्ने अधिकांश पर्यटक स्वदेशी नै हुने गर्छन्, केही मात्रामा विदेशी पुगे पनि उनीहरु रात बिताउनका लागि पोखरा नै फर्कने गर्छन’, कार्यवाहक अध्यक्ष कँडेलले भने, ‘स्वदेशी तथा विदेशी पर्यटकलाई एक रात बेगनासमा नै बस्ने वातानवरण बनायौँ भने पर्यटन मात्र हैन यहाँको डुंगा व्यवसाय फस्टाउने थियो ।’

अब पर्यटक आउछन् कि भन्ने आशा रहेको अर्का डुंगा व्यवसायी विश्वनाथ कँडेलले बताए । तालपारीका गाउँ बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पसगाउँका मानिस डुंगाबाट पोखरा बजार आवत–जावत गर्ने गरेको जानकारी कँडेलले दिए ।

३ सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा नौका विहार गर्ने पर्यटकले अन्नपूर्ण हिमश्रृंंखला, बेगनासको गाउँ, तालको छेउमा रहेको वराह थान, सुन्दरी डाँडा, माझठाना, कालिका, माझीकुना, तालका बाँध र ताल वरपरको जंगलको दृश्यावलोकन गर्न सक्छन् ।

बेगनास ताल डंगा व्यवसायी समितिले आफ्नो खर्च चलाउन २ मोटर र ४ वटा प्याडलबोट सञ्चालनमा ल्याएको छ । मोटर बोटमा नौका विहार गरेवापत पर्यटककले प्रतिघण्टा ४ सय रुपैयाँ तिर्नुपर्छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।